कचनकवल, झापा – कचनकवल-२ स्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ। के.एन. राजबंशी एण्ड कम्पनीद्वारा तयार गरिएको प्रतिवेदनले विद्यालयको आय-व्यय विवरण सही भए पनि विभिन्न नीतिगत त्रुटिहरू रहेको देखाएको छ।


विद्यालयको लेखापरीक्षण प्रतिवेदन लामो समयसम्म सार्वजनिक नहुँदा शिक्षक तथा कर्मचारीको तलब चार महिनादेखि रोकिएको थियो। तर, प्रतिवेदन सार्वजनिक भएसँगै तलबी माग फाराम गाउँपालिकाको शिक्षा शाखाले बुझेको छ।
लेखापरीक्षण प्रतिवेदन अनुसार विद्यालयका प्रधानाध्यापक सुभद्रा अधिकारीले नमुना विद्यालयका प्रमुखको रूपमा प्रतिमहिना रु १२,००० दरले एक वर्षमा कुल रु १,४४,००० भत्ता लिएको देखिएको छ। तर, उक्त भत्ता नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ अनुसार नहुने भएकाले सो रकम अनियमिततामा परेको उल्लेख छ।
यसैगरी, शिक्षक तथा कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधाहरू भुक्तानी गर्दा आयकर ऐन २०५८ अनुसार कर कट्टी गरिएको छैन। प्रतिवेदनअनुसार पारिश्रमिक आयकरबापत कुल रु १,८५,७०३.६४ कर कट्टी गरी दाखिला गर्नुपर्नेमा मात्र रु १६,०६३.०० दाखिला गरिएको पाइएको छ। यसले कर छली भएको स्पष्ट भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, कक्षा ११ को उत्तर पुस्तिका परीक्षण भत्ताका क्रममा पनि १५% कर कट्टी गरी भुक्तानी दिनुपर्नेमा सो नगरी कर छली गरिएको देखिएको छ। लेखापरीक्षण प्रतिवेदनले भुक्तानी लिएका शिक्षक तथा कर्मचारीहरूबाट सो रकम असुली गरी आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने उल्लेख गरेको छ।
विद्यालय प्रशासनले करसम्बन्धी अनियमितताको विषयमा कुनै प्रतिक्रिया दिएको छैन। तर, शिक्षा शाखाले प्रतिवेदनको आधारमा आवश्यक कारबाही अघि बढाउने संकेत गरेको छ।