हल्दिवारी-१, गोलधाप, झापा : जनजागृति माध्यमिक विद्यालय, जसको स्थापना वि.सं. २०२४ मा भएको थियो । आज गठित समितिले २०४४ सालको पहिलो एसएलसी ब्याचको पूर्व विद्यार्थीहरूको सक्रियतामा "पूर्व विद्यार्थी समाज तदर्थ समिति" गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी छविलाल बस्नेतलाई प्रदान गरिएको छ भने अन्य सदस्यहरूमा दुर्गा खतिवडा ,यज्ञनीधि भूर्तेल ,रमेश पकुवाल ,झुमा रेग्मी ,महेन्द्रप्रसाद गुरागाई र सचिवमा नरेन ‘बुबु’ राई चयन भएका छन् ।

समितिले आफ्नो विद्यालयसँगको सामीप्यता र अपनत्व कायम राख्दै विद्यालयको भौतिक ,शैक्षिक तथा गुणस्तरीय विकासमा सहयोग पुर्‍याउने उद्देश्य लिएको छ । साथै, आँफूलाई पढाउने गुरुजनहरूप्रति सम्मान प्रकट गर्दै सबै पूर्व विद्यार्थीबीच आत्मीयता र सहकार्यको भावना विकसित गर्ने योजना अघि सारेको छ ।

समितिको मुख्य उद्देश्य भनेको विद्यालयसँग आत्मीय सम्बन्धको निरन्तरता ,गुरुजनहरूप्रति सम्मान र सामीप्यता ,विद्यालयका भौतिक र शैक्षिक विकासमा योगदान ,विभिन्न ब्याचका विद्यार्थीहरूबीचको सम्बन्ध प्रगाढ बनाउँदै "हामी साथी साथी : सबैभन्दा माथि" भन्ने भावनाको प्रवर्द्धन गरिने मुख्य उद्धेश्य राखिएको छ ।

पुनर्मिलन कार्यक्रमको घोषणा माघ २६ गते शनिवारका दिन भेलागुडी सिमसारमा कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा सबै पूर्व विद्यार्थी ,पूर्व शिक्षक र कर्मचारीलाई आमन्त्रित गरिएको छ । कार्यक्रममा सहभोज ,गुरुजनहरूको सम्मान तथा विद्यालय विकासका लागि भावी रणनीति तय गरिनेछ ।

आजको बैठकमा जयकुमार नेपाल ,कमला राई ,सरोज राई ,भक्ति नेपाल ,छविलाल घिमिरे ,इन्द्र न्यौपाने र अग्नीप्रसाद ढकालजस्ता विशिष्ट व्यक्तिहरूले आफ्ना विचार राखेका थिए । उनीहरूले विद्यालयको महत्व ,गुरुजनहरूको योगदान र सामुदायिक शिक्षाको भविष्यप्रति आफ्नो धारणा प्रस्तुत गरे ।

समितिले भविष्यमा विभिन्न ब्याचका विद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालय र समुदायको समग्र उन्नयनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयप्रतिको अपनत्व ,गुरुजनहरूप्रति सम्मान र पूर्व विद्यार्थीहरूको सहकार्यका माध्यमबाट यो समिति विद्यालयको गौरवलाई थप उचाइमा पुर्‍याउन दृढ रहेको छ ।

यो पहलले विद्यालय ,विद्यार्थी र गुरुजनहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सामुदायिक शिक्षामा नवीन आयाम थप्ने विश्वास गरिएको छ । पुनर्मिलन कार्यक्रमले विद्यालयको गौरवमय इतिहासलाई झल्काउँदै भावी पुस्ताका लागि प्रेरणादायी भूमिका खेल्नेछ ।