झापा । कचनकवल गाउँपालिका स्वास्थ्य शाखाले क्षयरोगको पहिचान र नियन्त्रणका लागि सक्रिय क्षयरोग खोजपडताल अभियान सुरु गरेको छ। यो अभियानले विशेषगरी दुर्गम बस्ती ,जोखिम समूह र कमजोर स्वास्थ्य सेवा पहुँच भएका प्रत्येक वडाका जनतालाई लक्षित गर्नेछ।

अभियानको मुख्य उद्देश्य भनेको समाजमा लुकेका क्षयरोग संक्रमित व्यक्तिहरूको पहिचान गरी उनीहरूको समयमै उपचार सुनिश्चित गर्नु हो। यो अभियानले समुदायस्तरमै क्षयरोग पहिचान गर्न महिला स्वयंसेविका साथै मोबाइल स्वास्थ्य टोली प्रयोग गर्नेछ।

१.मोबाइल स्वास्थ्य सेवा अन्तर्गत प्रशिक्षित स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुगेर लक्षण भएका व्यक्तिहरूको प्रारम्भिक परीक्षण गर्नेछ।

२.जाँच तथा उपचार सुविधा अन्तर्गत संकलित नमुनाहरूको जाँचका लागि आधुनिक प्रविधि प्रयोग गरिनेछ, जसमा जीन एक्सपर्ट मेसिन प्रमुख हुनेछ।

३.सचेतना कार्यक्रम अन्तर्गत समुदायलाई क्षयरोगबारे शिक्षित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

लक्षित समूह :

लामो समयसम्म खोकी रहने ,तौल घट्ने र कमजोरी महसुस गर्ने ,क्षयरोगको सम्पर्कमा आएका व्यक्ति ,उच्च जोखिममा रहेका गरिब तथा श्रमिक समुदायलाई अभियानले समेट्ने स्वास्थ्य प्रमुख जागेश्वर प्रसाद यादवले बताउनुभयो ।

अभियानको महत्व :

नेपालमा प्रत्येक वर्ष ४० हजारभन्दा बढी क्षयरोगका नयाँ बिरामी पहिचान हुन्छन्। अझै पनि धेरै बिरामीहरू उपचारबिना बस्ने गरेका छन्। समयमै रोगको पहिचान र उपचार गर्न सके क्षयरोगको संक्रमण रोक्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यो अभियानबाट वर्षमा हजारौं व्यक्तिको जीवन बचाउने अपेक्षा गरिएको छ। अभियानलाई सफल बनाउन संघ, प्रदेश, र स्थानीय तहले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

नारा :

"सक्रिय खोजपडताल: क्षयरोगमुक्त नेपाल!"