झापा । कचनकवल गाउँपालिका ६ (बनियानी) स्थित नौलो भविष्य साना किसान कृषि सहकारी सँस्थाले सँस्थामा आवद्ध सदस्यहरुलाई एक दिवसीय तोरी खेती ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

कचनकवल गाउँपालिका कृषि शाखा प्रमुख सँगम सापकोटाले तालिमको सहजीकरण गर्दै नौलो भविष्य साना किसान कृषि सहकारीमा आवद्ध कृषक सदस्यलाई तोरी खेतीमा उत्पादन बढाउन कृषक सदस्यहरूलाई तालिममा तोरी खेतीको सिफारिस गरिएका नयाँ प्रजातिहरू ,आधुनिक प्राविधिक ज्ञान र समुचित खेती व्यवस्थापनबारे जानकारी दिनुका साथै कृषकलाई उत्पादनशिलतामा वृद्धि ,लागत घटाउने उपाय तथा वातावरणमैत्री प्रविधिको प्रयोग गर्न प्रेरित गरिएको थियोे ।

नौलो भविष्यद्वारा सम्पन्न तालिममा वक्ताहरूले नेपालको कृषि प्रणालीमा महत्वपूर्ण स्थान राख्ने तोरी खेती केवल खाद्य तेल उत्पादनको लागि मात्रै प्रयोग नभई यसले माटोको उर्वरता सुधार्न तथा कृषकको आर्थिक आम्दानी बढाउन समेत ठूलो भूमिका खेल्ने बताउनुभयो ।

प्रशिक्षक सापकोटाले कृषकलाई माटो तयारी र बीउ छान्ने प्रक्रिया ,तोरी खेतीको लागि उचित माटोको छनोट तथा तयारीका उपाय ,उन्नत बीउ छनोट तथा बीउ प्रशोधनका प्राविधिक विधिहरू ,रोपाइँ र मल व्यवस्थापन ,रोपाइँको सही समय ,दूरी तथा घनत्व ,जैविक र रासायनिक मलहरूको प्रयोग ,रोग र किरा नियन्त्रण ,तोरीमा देखिने प्रमुख रोग र किराको पहिचान ,जैविक कीटनाशकको प्रयोग र रोग प्रतिरोधात्मक उपाय ,बजार व्यवस्थापन र मूल्यवृद्धि ,उत्पादनपछिको भण्डारण ,प्रशोधन र बिक्री प्रविधिहरू बजारसम्म उत्पादन पुर्‍याउने व्यावसायिक उपायहरूबारे सहभागीलाई प्रशिक्षण दिईएको थियोे ।

एक दिवसीय तोरी खेती ब्यवस्थापन तालिम कार्यक्रमको समापन गर्दै सहकारी सँस्थाका अध्यक्ष रविचन्द्र ओझाले कृषि तालिमपछि कृषकहरूले आफ्नो उत्पादन वृद्धि गर्नुका साथै तोरीको गुणस्तर सुधार गर्न सक्ने अपेक्षा गरिनुका साथै नयाँ प्रविधिहरूको उपयोगले कृषकहरूको जीवनस्तर सुधार्न तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सम्पादकको निष्कर्ष :

नेपाली अर्थतन्त्रको मुख्य आधार कृषि नै भएकोले कृषि सहकारी सँस्थाले कृषकलाई तोरी खेती व्यवस्थित बनाउन र कृषकलाई प्रोत्साहन दिन तालिम महत्त्वपूर्ण छ। सरकार तथा निजी क्षेत्रको सहकार्यमा यस किसिमका तालिमहरूलाई निरन्तरता दिन सके कृषिमा आत्मनिर्भरता हासिल गर्न सकिन्छ।