झापा। कचनकवल गाउँपालिकाले गाउँपालिका भित्रका माद्यामिक तह सञ्चालित सामुदायिक विद्यालयहरुमा विद्यालय नर्सको नियुक्तिपछि सेवा प्रवेश तालिमको उद्घाटन गरेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको सभाहलमा सञ्चालन हुने ६ दिवसीय सेवा प्रवेश तालिममा ८ सामुदायिक माद्यमिक विद्यालयका विद्यालय नर्सको सहभागिता रहेको छ।
कचनकवल स्वास्थ्य शाखाको सहजीकरणमा प्रारम्भ भएको सेवा प्रवेश तालिम कार्यक्रममा लक्ष्मी मावि र पथरिया माविका पुराना विद्यालय नर्सहरु रहेपनि यसैवर्ष नियुक्ति लिएका नवप्रवेशी बुद्ध मावि ,लक्ष्मी प्रसाद देवकोटा मावि ,महेन्द्र रत्न मावि ,जानकी मावि पाठामारी ,मोति मावि डागिवारी र जनता मावि बालुवाडीका विद्यालय नर्सहरुको सहभागिता रहेको छ।
उक्त सेवा प्रवेश तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,उपाध्यक्ष नवराज भट्टराई ,निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनाली ,स्वास्थ्य सेवा विभाग, टेकुका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक बाला राई र स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवको आतिथ्यता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन महेश चन्द्र नेपालले गर्नु भएको थियोे ।
कचनकवल गाउँपालिकाले माद्यामिक तह सञ्चालित सामुदायिक विद्यालयमा नर्सिङ सेवा बिस्तार गरेसँगै सामुदायिक विद्यालयका विद्यार्थी तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना र सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुगेको छ।