बनियानी(झापा) : पूर्वी तराईका आदिवासी समुदायले हरेक वर्ष लक्ष्मी पूजाको साँझ मनाउने हुकाहुकी पर्व मनाउन यस वर्ष पनि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी, गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई,वडाध्यक्ष चिन्तामणि खरेल,भरत राजवँशी,कुल बहादुर कार्की,पदम सिटौला,अभियन्ता कर्ण राजवँशी लगायतका थुप्रै अतिथिहरुको उपस्थितिमा मन्तब्य सहित बनियानी स्थित हुकाहुकी चौकमा भब्यताका साथ पर्व मनाईएको छ। झापा, मोरङ र सुनसरी लगायतका पूर्वी तराईमा आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्दै यो पर्व मनाउने गरिन्छ। राजवंशी, ताजपुरिया, गनगाईं लगायतका समुदायमा यो पर्व मनाउने चलन छ।
अघिल्ला वर्षहरूमा छरछिमेकी भेला भएर साँझमा सामुहिक रुपमा यो पर्व मनाउने चलन भएपनि केही वर्ष अघिबाट कचनकवल-६ (बनियानी) को मुख्य चौकमा स्तम्भ निर्माण गरेसँगै हुकाहुकी चौक नामाकरण गरिएको उक्त स्थानमा सामुहिक रुपमा भेला भएर हुकाहुकी पर्व मनाईदै आएको छ।
हुकाहुकी पर्व कोच समुदायले आफ्ना पितृहरूबाट आशीर्वाद माग्ने पर्व हो।धान काट्ने समयमा यो पर्व पर्ने भएकाले उनीहरू हुकाहुकीको दिन बिहान खेतमा गएर आफ्नो धान राम्रो फलोस् भनी कामना तथा पूजा गर्दछन्।
यस्तै साँझमा सन्ठी (सनपाटको डाँठ) मा आगो लगाएर आकाशमा आफ्ना पितृ भएको ठान्दै आकाशतर्फ त्यसलाई फाल्दै 'दादो दादा हुक्का ले (हजुरबुवा–हजुरआमा हुक्का लिनुहोस्)' भनेर समर्पण गर्ने गरेको पाईन्छ ।