झापा । कचनकवल गाउँपालिकाले नवजात शिशुहरूमा समयमै सम्भावित अपांगता पहिचान गर्न र उचित उपचार तथा व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाको सभा हलमा सञ्चालित दुई दिने अभिमुखीकरण कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी र बिशिस्ट अतिथिका रुपमा पालिका अपांगता समन्वय समिति सँयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको रहेको थियोे ।
अभिमुखीकरण कार्यक्रममा अतिथिका रुपमा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव,करुणा फाउन्डेसनका विक्रम कोइराला ,सुनिता दाहाल,अञ्जना लामिछाने रहेको कार्यक्रमको सञ्चालन महेश चन्द्र नेपालको रहेको थियोे ।
अभिमुखीकरण कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले सम्बोधन गर्दै अपांगता रोकथाम तथा पहिचानमा स्वास्थ्यकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भएकाले नवजात शिशुहरूमा जन्मजात विकृति, शारीरिक तथा मानसिक विकासमा हुने समस्या, सुन्ने र बोल्ने क्षमतामा समस्या, दृष्टिकोण सम्बन्धी अपांगता लगायतका चुनौतीहरूको पहिचान गर्ने कामलाई शीघ्रता दिन दुई दिने स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रमले गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरूलाई विशेष प्रशिक्षण प्रदान गरेकोमा आयोजक तथा सहभागीलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
दुई दिने अभिमुखीकरण कार्यक्रमलाई समापन मन्तब्य राख्दै अपांगता रोकथाम समन्वय समिताका सँयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले विकसित मुलुकहरूमा जन्मेदेखि नै विभिन्न परीक्षण तथा निरिक्षण प्रणालीहरू छन् जसले शीघ्र पहिचानमा मद्दत पुर्याउँछन्। यसैलाई ध्यानमा राखेर नेपालमा पनि स्थानीय स्वास्थ्यकर्मीलाई शीघ्र परीक्षण गर्ने विधि र मापदण्डबारे अवगत गराउँदै विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिएकाले प्रशिक्षणमा नवजात शिशुमा हुने न्यूरोलोजिकल, सेंसरी, तथा शारीरिक अपांगताको लक्षण पहिचान गर्ने विधि र त्यसको प्रारम्भिक व्यवस्थापनका उपायहरू प्रशिक्षकले सिकाउनु भएकाले नवजात शिशुको विकासमा आउने समस्या तथा अपांगताको शीघ्र पहिचान र उचित उपचारले नवजात शिशुको जीवनमा सकारात्मक प्रभाव पार्न सक्दछ। यस किसिमको शीघ्र हस्तक्षेपले भविष्यमा आउनसक्ने जटिलतालाई कम गर्न र तिनको क्षमता बढाउन मद्दत पुर्याउनु नै अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको उद्देश्य भनेकै सबै शिशुहरूको गुणस्तरीय जीवन सुनिश्चित गर्नु रहेको बिचार ब्यक्त गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले मन्तब्य राख्दै नवजात शिशुहरूमा हुनसक्ने समस्याको समयमा नै उपचार र व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरूलाई थप प्रभावकारी बनाउने प्रयासस्वरूप यस प्रकारका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र यसले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउन ठुलो योगदान पुर्याउने अपेक्षा राख्नुभयो ।