काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सले पाँचौं पटक विश्वको सबैभन्दा शक्तिशाली र सबैभन्दा वजनदार रकेट ‘स्टारशिप’को सफलतापूर्वक परीक्षण गरेको छ । कम्पनीले आइतबार अन्तरिक्ष क्षेत्रमा यो एक ऐतिहासिक सफलता हासिल गरेको हो ।
रकेट प्रक्षेपण गरी त्यसको बुस्टर सफलता पूर्वक प्रक्षेपण साइटमा फर्किएपछि मस्कको स्पेसएक्सलाई ठूलो सफलता मानिएको छ । यो स्पेसएक्सका लागि एक महत्वपूर्ण कोसेढुङ्गा पनि हो । भविष्यमा मानवलाई मङ्गल ग्रहमा लैजानको लागि एउटा बाटो खुलेको बताइएको छ ।
बुस्टर सफलतापूर्वक लन्च प्याडमा फर्किए पछि मस्कले एक्समा भिडिओ राख्दै भनेका छन्, “टावरले सफलतापूर्वक रकेट समातेको छ ।”
यस उपलब्धिपछि स्पेसएक्सका कर्मचारीमा खुसियाली छाएको देख्न सकिन्छ । स्पेसएक्सले नेपाली समय अनुसार आइतबार साँझ ६ः१५ बजे अमेरिकाको साउथ टेक्सासस्थित स्टारबेस प्रक्षेपण स्थलबाट ४०० फिट (१२२ मिटर) अग्लो स्टारशिप लन्च गरेको थियो । यस प्रक्षेपणको सबैभन्दा विशेष पक्ष भनेको ‘सुपर हेभी’ भनिने स्टारशिपको पहिलो चरणको बुस्टरलाई प्रक्षेपण माउन्टमा फर्काउनु थियो । सोही योजना सफलता पूर्वक सम्पन्न भएको छ ।
लगभग ७ मिनेटको उडानपछि सुपर हेभी बुस्टर सफलतापूर्वक लन्च टावरमा अवतरण भएको हो । र, टावरमा रहेको प्रणालीले बुस्टरलाई सुरक्षित रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
स्पेसएक्सको यो सफलता केवल बुस्टरको फर्काइसम्म मात्र सीमित छैन । सुपर हेभी बुस्टरले १६५ फिट अग्लो स्टारशिपको अपर स्टेजलाई अन्तरिक्षतर्फ पठायो । जसलाई पछि हिन्द महासागरमा अवतरण गराउनुपर्ने योजना थियो । प्रक्षेपणको ६५ मिनेटपछि स्टारशिपले आफ्नो इन्जिनहरू फायर गरी सफलतापूर्वक समुद्रको माथि घुम्न थाल्यो । जुन योजनाअनुसार नै सम्पन्न भएको छ ।
स्टारशिप पुन: प्रयोग गर्न मिल्ने रकेट हो । यसमा मुख्य रूपमा दुई भाग हुन्छन् । पहिलो यात्रु बोक्ने भाग जहाँ यात्रुहरूले यात्रा गर्छन् । र, दोस्रो सुपर हेभी रकेट बुस्टर । स्टारशिप र बुस्टरको कुल लम्बाइ लगभग ४०० फिट (१२२ मिटर) हुन्छ । र, यसको तौल लगभग ५० लाख किलोग्राम छ । यो रकेट १.६ करोड पाउण्ड (७० मेगान्यूटन) थ्रस्ट उत्पन्न गर्न सक्षम छ । यो रकेट नासाको स्पेस लन्च सिस्टम (SLS) रकेटभन्दा लगभग दोब्बर शक्तिशाली रकेट हो । स्रोत : Techpana