

बिर्तामोड, झापा । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्ति गाउँपालिका स्थित आदर्श माविले प्रथम स्थान हासिल गर्दै ४ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।
बिर्तामोडमा सम्पन्न प्रदर्शनीमा झापाकै देवी माविले दोस्रो स्थान हात पार्दै ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने तेह्रथुमको सिंहदेवी माविले तेस्रो स्थानमा रहँदै २ लाख रुपैयाँ पाएको छ। आयोजकले चौथो स्थानका लागि पुरस्कार घोषणा नगरेपछि सहभागी विद्यालयहरूबीच असन्तोष देखिएको छ।
त्यस्तै, प्रोत्साहन स्वरूप ९ वटा विद्यालयलाई २५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। प्रोत्साहन प्राप्त गर्ने विद्यालयमा फिदिम मावि पाँचथर, फिक्कल मावि इलाम, ल्याबोरटरी मावि सुनसरी, चिसापानी मावि खोटाङ, भानु जन मावि ताप्लेजुङ, मनकामना रत्न अम्बिका मावि संखुवासभा, हिमाली मावि झापा, त्रिवेणी मावि धनकुटा, र रिलाइन्स अंग्रेजी मावि मोरङ रहेका छन्।
पुरस्कार वितरण समारोहमा नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले विजयी विद्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। समापन समारोहमा मेची आँखा अस्पतालका प्रमुख जलकुमार गुरुङ लगायतले मन्तव्य राखेका थिए।
समारोहको अध्यक्षता विज्ञान विभाग प्रमुख गणेश पोख्रेलले गरेका थिए भने अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेकी थिइन्। कार्यक्रम सञ्चालन मदन भण्डारी विज्ञान प्रतिष्ठान झापाका सचिव शिव ढुङ्गेलले गरेका थिए।
समारोहको समापनसँगै पुरस्कार वितरणको विषयमा विवाद उत्पन्न भएको छ। आयोजकले सुरुमा प्रथमदेखि चौथो स्थानसम्मका विद्यालयलाई नगद पुरस्कार दिने र २५ वटा विद्यालयलाई प्रोत्साहनस्वरूप २५/२५ हजार रुपैयाँ वितरण गरिने बताएका थिए। तर, समापन कार्यक्रममा केवल तीन विद्यालयको मात्र नाम सार्वजनिक गरिएपछि सहभागी विद्यालयहरू बीच असन्तोष फैलिएको हो।
त्यस्तै, २५ विद्यालयलाई प्रोत्साहन पुरस्कार दिने भनिएपनि केवल ९ विद्यालयलाई मात्र घोषणा गरिएको भन्दै माहोल तनावग्रस्त बनेको थियो। केही विद्यालयका शिक्षक तथा प्रतिनिधिहरुले लिखित रूपमा विरोध निवेदनसमेत दिएका थिए।
यस सम्बन्धमा आयोजक समितिका अध्यक्ष गणेश पोख्रेलले सबै जिल्लाबाट विद्यालयको सहभागिता नभएको र प्रतिस्पर्धी विद्यालयको संख्या न्यून भएकाले पुरस्कार संख्या घटाइएको प्रष्ट्याएका छन्। तर सहभागी शिक्षकहरुले भने निर्णय प्रक्रियामा पारदर्शिता नभएको गुनासो गरेका छन्।
अत्यन्त जरुरी सूचना :