कचनकवल।आज ६०औँ राष्ट्रिय बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
कचनकवल गाउँपालिका वडा ६ (बनियानी) स्थित श्री लक्ष्मी माद्यामिक विद्यालयले बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ। उक्त विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई कक्षागत चित्रकला गर्नुका साथै कक्षा ६ देखि ८ सम्म अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता गर्दै कक्षा ९ र १० लाई वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ। संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ।