कचनकवल।दक्षिणी झापाको कचनकवल गाउँपालिकाले साउन २८ गते (सोमबार) स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कचनकवल- १ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक वर्ष साउनको अन्तिम सोमबार लाग्ने स्थानीय मेलाको अवसरमा उक्त दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछ ।
दक्षिणी झापाको चर्चित धार्मिक स्थलको रुपमा विकसित हुँदै गएको कचनकवल १ को भुतेश्वर महादेव मन्दिरमा गोरु दान ,नगद र जिन्सी दान दिने गरिएपनि त्यस मन्दिरमा भाकलस्वरुप भक्तजनहरूले गोरु र बाछो दान पनि दिने गरेको पाइएको छ ।
आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको बाहान गोरु दान दिने गरेका हुन् । त्यस मन्दिरमा गोरु दानमा आएका गोरुहरूलाई बिक्री गरी आम्दानीमा बाँध्ने गरिएको छ । साउन महिनाको प्रत्येक सोमवार त्यहाँ भक्तजनहरूले जल चढाउने गरेका छन् ।
२०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कट्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम सुरु गरेको हो ।
साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । भुतेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् । पहिला सँगै जोडिएको भुतेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो।अहिले बद्रीनाथ ,गणेश ,कार्तिक ,हनुमान ,पार्वती ,शिवशक्ति ,कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड ,धर्मशाला ,सत्सङ्ग भवन ,प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ । साउनको अन्तिम सोमवार त्यहाँ भक्तजन र मेला भर्नेहरूको निकै घुइँचो लाग्ने गरेको छ।
आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार ,बङ्गाल र नेपालको विराटनगरसम्मका भक्तजनहरू आउने गरेकाछन्।