काठमाडौँ, असार १७ – नेपाल आयल निगमले फेरि एकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल, मट्टितेलसहित हवाई इन्धनको मूल्य समायोजन गरिएको जानकारी दिएको हो।


विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ। यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० अमेरिकी डलर वृद्धि गरिएको छ।
मूल्य समायोजन मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमले हालको मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको निरन्तर वृद्धि तथा भन्सार मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको स्पष्ट पारेको छ।
इन्धनको मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक बोझ पर्ने देखिएको छ भने सार्वजनिक यातायातदेखि खाद्यवस्तुमा समेत यसको प्रभाव पर्ने अनुमान गरिएको छ।