कचनकवल, असार १४ ।

शान्तिपूर्ण गाउँको रुपमा चिनिँदै आएको झापाको कचनकवल फेरि एकपटक चोर समूहको आतंकले त्रसित भएको छ। असार १४ गतेको रात एकै रात कचनकवलका दुई फरक स्थानमा भएका चोरी प्रयासले गाउँको सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

कचनकवल-२ सुकुनाडिगीमा रातको अन्धकार चिर्दै करिब ११ बजे घरघर पस्ने चोरहरूले मोबाइल चोरे। तर भाग्यवश, अर्को मोबाइल चोर्न खोज्दाखेरी ती चोरहरू स्थानीयको आँखामा परे। स्थानीय युवाले आँट र साहस गरेर चोरलाई खेदाए, जुन प्रयासले अर्को सम्भावित क्षति टरेको थियोे।Screenshot_2025-06-28-12-23-27-956_com.facebook.orca-edit

यही रातको अर्को भयानक अध्याय कचनकवल-६ बनियानीमा बिहान देखियो। चोरी प्रयासकै क्रममा स्थानीयले एकजनालाई समातेर प्रहरीलाई बुझाए। प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति चन्द्रगढी निवासी मुकेश विश्वकर्मा हुन्। उनीसँगै घटनामा संलग्न रहेको आरोप लागेका प्रदीप माझी र मौसम किस्कु भने हाल फरार छन्।Screenshot_2025-06-28-12-23-53-413_com.facebook.orca-edit

इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक रोहितबहादुर मगरका अनुसार घटनास्थलबाट ४ थान विभिन्न ब्रान्डका मोबाइल, एक थान खुकुरी र एक थान मोटरसाइकल समेत बरामद गरिएको छ। बरामद मोटरसाइकल २२० सिसिको मे १० प ६२१३ नम्बरको बजाज पल्सर हो, जुन मोटरसाइकल मेचीनगर-१४ दुवागढीस्थित सञ्जय राईको घरबाट हिजो रातको १ बजे चोरिएको पुष्टि भएको छ।Screenshot_2025-06-28-12-24-15-892_com.facebook.orca-edit

चोरीको त्यो मोटरसाइकल चढेर चोरहरू कचनकवलका विभिन्न स्थानमा आज चोरी गर्दै हिँडिरहेका थिए। बनियानीमा उनीहरूलाई स्थानीयको सजगता र साहसले एकजनालाई समात्न सफल भयो। समातिएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ भने फरारलाई पक्राउ गर्न व्यापक खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

यस घटनाले कचनकवलबासीलाई झस्काएको छ। रातीको निद्रा बिथोल्ने, स्थानीयको सुरक्षालाई चुनौती दिने यस्ता आपराधिक क्रियाकलापप्रति कडा कारबाहीको माग स्थानीयवासीबाट उठेको छ।

सुरक्षा चुनौतीसँगै अब प्रश्न उठेको छ - कति सुरक्षित छ हाम्रो गाउँ, हाम्रो घर र हाम्रो निद्रा ?