झापा, असार १७ । नेपालमा पूर्ण रूपमा संरक्षित सूचीमा सूचीकृत दुर्लभ तथा संकटापन्न वन्यजन्तु सुन गोहोरो (Golden Monitor Lizard – Varanus flavescens) हाल कचनकवल गाउँपालिका क्षेत्रमा सामाजिक सञ्जालमार्फत सार्वजनिकरूपमा प्रदर्शन गरिएको छ।

टिकटक जस्ता प्लेटफर्ममा सुन गोहोरो समातिएको, खेलाइएको वा प्रदर्शन गरिएको दृश्यहरू भाइरल भइरहेका छन्, जसले नेपालको वन्यजन्तु संरक्षण कानून र अन्तर्राष्ट्रिय दायित्वप्रति गम्भीर प्रश्न उठाएको छ।

सुन गोहोरोलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत Schedule-1 मा राखिएको छ। ऐनले संरक्षित सूचिमा रहेका जनावरलाई नोक्सान पुर्‍याउने, समात्ने, मार्ने, बिक्री–वितरण वा पाल्नेलाई गम्भीर आपराधिक कार्य मानेको छ।

यस ऐनको दफा २६ अनुसार, यस्ता कार्यमा संलग्न व्यक्तिलाई १ वर्षदेखि १० वर्षसम्म कैद, रु. १ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ।

CITES (Convention on International Trade in Endangered Species) को Appendix I मा सूचीकृत यस प्रजातिको अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा निषेधित छ।

यस्तै, IUCN Red List ले सुन गोहोरोलाई “Endangered” अर्थात् संकटापन्न वन्यजन्तुको श्रेणीमा वर्गीकृत गरेको छ, जसले यसको संरक्षणमा विशेष संवेदनशीलता आवश्यक रहेको संकेत गर्दछ।

कचनकवल क्षेत्रमा सुन गोहोरोसँग खेलिएको र सार्वजनिक रूपमा प्रदर्शन गरिएको भिडियोहरू सामाजिक सञ्जालमा देखिए पनि, हालसम्म जिल्ला वन कार्यालय झापा, स्थानीय सरकार, वा सुरक्षासंस्थाबाट कुनै सार्वजनिक अभिव्यक्ति वा कारबाही प्रारम्भ भएको देखिएको छैन।

जसका कारण स्थानीय तहमा वन्यजन्तु संरक्षणको प्रश्न गम्भीररूपमा उठ्न थालेको छ।

२०८० सालमा मोरङ र झापाका विभिन्न स्थानमा सुन गोहोरो तस्करीमा संलग्न गिरोह पक्राउ परेका थिए।

छालाको मूल्य अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै उच्च हुने भएकाले, यस जनावरप्रति अवैध चासो बढ्दो छ।

यसै सन्दर्भमा, सामाजिक सञ्जालको प्रयोग गर्दै संरक्षित प्रजातिको प्रयोग हुनु स्वयं तस्करी र शिकारका लागि तयारी वा विज्ञापनको माध्यम बन्ने खतरा भएको विज्ञहरू बताउँछन्।

सुन गोहोरो विशेष गरी नेपालका तराई भूभाग — झापा, मोरङ, बर्दिया, कैलाली, चितवन, नवलपरासी लगायतका स्थानमा पाइन्छ।

तर संरक्षण निकायहरूकै कमजोरीका कारण यसको प्राकृतिक वासस्थान दिनप्रतिदिन खुम्चिँदै गएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गोहोरोको संख्या घट्दो अवस्थामा रहेको देखिएको छ।

वन्यजन्तु संरक्षण केवल ऐनमा लेखिएको दस्तावेज नभई व्यवहारमा लागु हुने प्रक्रिया हो।

सुन गोहोरो जस्ता संरक्षित प्रजातिको अवैध प्रदर्शनमाथि तुरुन्त अनुसन्धान गरी कारबाही अघि बढाइनु आजको आवश्यकता हो।

यस प्रकारको लापरवाहीले नेपालको जैविक विविधता मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिष्ठा र संवैधानिक दायित्वमाथि समेत प्रश्न खडा गर्न सक्छ।

।यसप्रति सम्बन्धित निकाय - विशेष गरी जिल्ला वन कार्यालय झापा, प्रदेश वन निर्देशनालय तथा कचनकवल गाउँपालिकाले तुरुन्त ध्यान पुर्‍याई आवश्यक कानुनी कारबाही अघि बढाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ।