झापा, साउन ११ गते । झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका ब्यक्ति सहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनका लागि गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच सम्झौता भएको हो । 

कोशी प्रदेश सरकार ,कचनकवल गाउँपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ।सम्झौता अनुसार २०८१ साउन ११ गतेबाट ०८४ असार ३२ गतेसम्म लागु हुने जनाइएको छ।यस बिचमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण ,समावेशी शिक्षा ,जीविकोपार्जन ,सामाजिकीकरण ,सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । Screenshot_20240726_134202_Gallery

अब पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परामर्श तथा सेवा प्रवाहमा सहजिकरण गर्नका लागि मन्त्रलायले जारी गरेको सहजकर्ता छनोट सम्बन्धी मार्गदर्शन ,२०७९ बमोजिम प्रक्रिया पुरा गरी अपाङ्गता सहायता सहजकर्ता नियुक्ति गर्नेछ।नियुक्त भएका सहजर्तालाई आवश्यक तालिम प्रदान गरेर पालिकाभित्र भएका अपाङ्गताको तथ्याङ्क सङ्लकनदेखि उनीहरुको अवस्था बुझ्ने काम हुनेछ।त्यसपश्चात अपाङ्गता भएका व्यक्तिहरुको अवस्था हेरेर उनीहरुलाई आवश्यक स्वास्थ्य ,शिक्षा प्रदान गरिनेछ।जीविकोपार्जन ,सामाजीकीकरण लगायत सुधार गरेर उनीहरुलाई सशक्त बनाइने करुणा फाउण्डेसनका ब्यवस्थापक सन्तोष घिमिरेले बताउनुभयो । 

घिमिरेका अनुसार अपाङ्गता भएका बच्चा जन्मन नदिनका लागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ।बच्चा जन्मेपछि २९ दिनभित्र स्वास्थ्य परिक्षण गरिनेछ।दश वर्ष मुनिका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनीहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ।तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमबाट गाउँपालिकाका नागरिक लाभाम्वित हुने घिमिरेको भनाइ छ।राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कचनकवल गाउँपालिकामा १५ सय २८ अपाङ्गता भएका व्यक्तिहरु मध्ये ९ सय १५ जनालाई परिचयपत्र वितरण गरिएको छ।

आर्थिक वर्ष २०७६-०७७ बाट कोशी प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो।कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेर सुरु भएको यस कार्यक्रम हालसम्म प्रदशेका विभिन्न स्थानीय तहहरुमा सञ्चालन भइसकेको छ।कार्यक्रम सम्झौतासँगै कार्यक्रम सम्बन्धी अभिमुखीकरण समेत गरिने छ।अभिमुखीकरणमा जनप्रतिनिधि ,कर्मचारी ,शिक्षक ,स्वास्थ्यकर्मी ,राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेने छ।यसअघि पनि कचनकवल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हितको लागि विभिन्न कार्यक्रम गर्दै आएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले बताउनुभयो । 

कचनकवल गाउँपालिकालाई प्राविधिक सहयोग गर्न फाउन्डेसनको तर्फबाट पालिका सँयोजक अञ्जना लामिछानेले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखासँग सहकार्य गर्न उपस्थित भईसक्नु भएको छ।यो कार्यक्रम थप भएसँगै अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ।अपाङ्गता भएका व्यक्तिको पहिचान गरी गाउँघरमै पुगेर परिचयपत्र वितरण गर्ने ,राज्यले दिएको सेवा सुविधा उपलब्ध गराउने ,गाउँपालिको तर्फतबाट गर्भवती तथा बिपन्न नागरिकलाई निःशूल्क स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ।