झापा। झापाको कचनकवल गाउँपालिकाले पालिकाभित्रका विपन्न घरपरिवार र गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा र पुरानो नवीकरणलाई निरन्तरता गरेको छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा १ हजार घरपरिवारको नि:शुल्क स्वास्थ्य बीमा गरेकोमा नवीकरण बापत २५ प्रतिशत बीमितले ब्यहोर्न गरि ७५ प्रतिशत बीमा रकम पालिका ब्यहोर्ने गरि बीमा नवीकरण गरेको छ।चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत थप नयाँ ५०० घरपरिवारको नि:शुल्क स्वास्थ्य बीमा गर्न आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका १५ सय विपन्न घरपरिवार र गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता गरेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले जानकारी दिनुभयो।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न घरपरिवार र गर्भवती महिलाको सहज स्वास्थ्य उपचार सेवा पुर्याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो”, उनले भने, “यसबाट पालिकाभित्रका करिब १५ सय विपन्न घरपरिवार र गर्भवती महिला लाभान्वित हुनेछन् ।”

स्वास्थ्य बीमा गराउन सबै वडामा एक-एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ।गाउँपालिकाले बिपन्न घरपरिवार तथा आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न पालिकाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो।

गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष राजवँशीले बताउनुभयो।

“आफैंले बीमा गर्न नसक्ने अवस्थामा रहेका सबै विपन्न घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ”, उनले भने, “यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका कचनकवल गाउँपालिकाभित्रका कोही पनि गर्भवती तथा विपन्न समुदायका नागरिकहरु अब स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन ।”

गाउँपालिकाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार र गर्भवती महिलाहरु पनि खुसी भएका छन्। विपन्न घरपरिवार तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन गाउँपालिकाले नेपाल सरकारको स्वास्थ्य वीमा वोर्डसँग सहकार्य गरेको छ।