भद्रपुर । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बिफल बनाउन केही सञ्चार माध्यम तथा केही व्यक्तिहरूले सामाजिक सञ्जाल फेसबुकमा गलत प्रचार गरिरहेका छन् ।
राजनीतिक आग्रह पूर्वाग्रहका कारण राष्ट्रिय अभियानलाई बिफल बनाउन हरेक घटनालाई हात्तीपाइले रोग बिरुद्धको औषधिलाई दोष थोपरेर गरिने प्रचारले झापालाई यस पटक पनि लक्ष्य प्राप्तिमा समस्या हुने देखिएको छ । नेपालमा हात्तीपाइले रोगको औषधि यो वर्ष अन्तिम पटक खुवाइने भएको छ । नेपालबाट सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गरेरै छोड्ने सरकारी सङ्कल्प भएपनि अनर्गल प्रचारप्रसारले विफल बन्ने निश्चित छ।
वैशाख १६ गतेदेखि झापा ,धनुषा ,महोत्तरी ,सर्लाही ,रौतहट ,रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । हात्तीपाइलेको औषधि सेवन अभियान यो नै अन्तिम हुने स्वास्थ्य सेवा विभागले जनएको छ ।
झापामा सन् २०१२ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु गरिएको हो। यस वर्ष झापामा करिब १० लाख जनालाई औषधि खुवाउने अभियानको लक्ष्य रहेको छ।
अभियान अन्तरगत २०८१ बैशाख २० गते भद्रपुर नगरपालिका वडा नं. १ दशरथ टोल निवासी ६३ वर्षीय देविका बरालको आफ्नै निवासमा हात्तीपाइले रोग बिरुद्धको औषधि खाएको २ घण्टामा निधन भयो । निधन भएको वास्तविक कारण नबुझी अभियान बिरोधीहरू अनर्गल प्रचारमा लागे । वास्तविक कारण अहिलेसम्म पनि पुष्टि भएको छैन । तर, प्रारम्भिक परीक्षणमा हात्तीपाइले बिरुद्धको औषधिको असरको कुनै पनि संकेत नदेखिएको र थप विशेष अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाह्रकोटीले जनाएका छन् ।
भद्रपुर १ को घटनालाई लिएर बैशाख २१ गते जिल्ला प्रशासन कार्यालय झापामा सर्वपक्षीय छलफल गरिएको छ । सो सर्वपक्षीय छलफलले ७ वटा निर्णय गरिएको बुझिएको छ । निर्णयहरूमा (१) तत्काल बि. पि. कोइराला स्वास्य विज्ञान प्रतिष्ठान धरानमा शव पोष्ट मार्टमका लागि सहजिकरण गर्ने । आवश्यक र संभव भए भिसेरा समेत परीक्षणका लागि पठाउन पहल गर्ने । (२)औषधिका असरका कारण मृत्यु भएको प्रमाणित भएमा तिनै तहका सरकारहरू, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयले राहत तथा क्षतिपूर्तिका लागि नेपाल सरकार समक्ष पहल गर्ने ।(३) अभियानका क्रममा घटना भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकोले हाललाई दाह संस्कार खर्च स्वरुप भद्रपुर नगरपालिकाबाट ३ लाख उपलब्ध गराउने र अन्य क्षेत्रबाट कुनै राहत उपलब्ध हुन नसक्ने अवस्था भए पनि एक महिना भित्रमा थप २ लाख राहत उपलब्ध गराउने । (४)अभियानलाई सुचारु राख्दै सफल बनाउनका लागि सबै क्षेत्रबाट सहयोग गर्ने र अभियानलाई बाधा पर्ने भ्रामक सूचनाहरू सामाजिक सञ्जालमा नराख्ने । दीर्घरोगी, जेष्ठ नागरिकहरूलाई औषधि खुवाउँदा थप सतर्कता अपनाउने र सेवाग्राहीको स्वास्थ्य अवस्था बुझेर निर्देशिका बमोजिम औषधि दिने ।त्यसैगरी निर्णय नं. (५) मा मृतक परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर देखिएको औषधि सेवन गरेको दुई घण्टा पश्चात मृत्यु भएको देखिएकोले पीडित परिवारलाई संघीय सरकार,कोशी प्रदेश सरकार र स्थानीय सरकार मार्फत राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला स्तरीय समन्वय समितिले आवश्यक पहल गर्ने ।(६) पीडित परिवारका कुनै एक व्यक्तिलाई निजको योग्यता र क्षमता अनुसारको रोजगारीका अवसरका लागि भद्रपुर नगरपालिका ,प्रादेशिक अस्पताल भद्रपुर ,स्वास्थ्य कार्यालय झापामा पहिलो प्राथमिकतामा राख्ने । (७) अभियानका क्रममा देखिएका यस प्रकारका घटनाहरूको सम्बन्धमा नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउने ।छलफलमा स्थानीय जनप्रतिनिधिहरू ,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू ,नागरिक समाज तथा पीडित परिवारका आफन्तहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी बैशाख २३ गते स्वास्थ्य कार्यालय झापाले सोही घटनाको विषयलाई जोडेर विज्ञप्ति निकालेको छ । अभियानको क्रममा भद्रपुर १ मा भएको घटनालाई सामाजिक सञ्जाल तथा केही मिडियामा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- 'उक्त घटनाको प्रारम्भिक परीक्षणमा औषधिको असरको कुनै पनि संकेत नदेखिएको र थप बिशेष अनुसन्धानको क्रममा रहेकोले अनुसन्धान पश्चात सो को विस्तृत जानकारी आम नागरिकसम्म पुऱ्याउन हामी प्रतिवद्ध छौ ।स्वास्थ्य कार्यालय झापाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाह्रकोटी भन्छन्-' उक्त घटनाको प्रारम्भिक परीक्षणमा औषधिको असरको कुनै पनि संकेत नदेखिएको र थप बिशेष अनुसन्धानको क्रममा (भिसेरा परीक्षण) रहेकोले रिजल्ट आउँन बाँकी छ ।'