झापा । कचनकवल गाउँपालिका स्वास्थ्य शाखाले यहि मिति २०८०/११/२० गतेदेखि मिति २०८०/११/२८ गतेसम्म कचनकवल गाउँपालिकाको सबै वडामा एकसाथ खोप सञ्चालन गर्दै छ।
अभिमुखीकरण गोष्ठीमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको अध्यक्षताका साथै बिशिस्ट अतिथिका रुपमा उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र सुमनको उपस्थितिमा सम्पन्न गोष्ठीमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले एकैपटक दैनिक बिहान १०:३० बजेदेखि अपरान्ह ४:०० बजेसम्म कचनकवल गाउँपालिका भित्रका १२५१६ जना लक्षित समुहका बालबालिकालाई दादुरा - रुवेला खोप अभियान सन्चालन भइरहेको सूचना स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मी अभिमुखीकरण गोष्ठी कार्यक्रममा उपस्थित सम्पुर्ण वडाका जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,धर्मगुरु,अभिभावक,प्राचार्य,शिक्षक,सञ्चारकर्मी,विद्यार्थी,युवा,ब्यापारी,बुद्धिजीवी,स्वास्थ्यकर्मी र म.स्वा.स्व.से.ज्यूहरु सबै मिलेर शत प्रतिशत सफल पार्न आवश्यक सहयोग,समन्वय र सहकार्य गर्न गराउन अनुरोध गर्नु भएको छ।
खोप सम्बन्धि विवरण :
१. ९ महिना देखि १५ बर्ष मुनिका सम्पूर्ण बालबालिकाहरु
२. ९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकाहरुमध्ये नियमित खोप लगाउने क्रममा DPT hep,PCV ,IPV खोप छुट भएकोलाई उक्त खोप सेवा समेत उपलब्ध हुने ।
खोप केन्द्रहरु :- कचनकवल गाउँपालिका भित्रका बिद्यालय र स्वास्थ्य संस्था ।
नेपाल सरकारले २०८० फागुन १३ गतेदेखि प्रथम चरण र फागुन २० गतेदेखि दोस्रो चरण गरी उच्च जोखीम भनी पहीचान गरिएको तराईका २१ जिल्ला र काडमाडौं उपत्यकाका ३ गरी २४ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका र न्युनतम जोखिम भनि पहिचान गरिएका बाँकी ५१ जिल्लाहरुमा ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई अनिबार्य दादुरा रुबेला खोप लगाइने अभियान सुरु हुँदैछ। साथै यस अभियानमा ५ वर्ष मुनिका बाल बालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले बच्चाको पहिला खोप लगाउँदाको खोपकार्ड अनिवार्य लिएर जानको लागी पनि जानाकारी गराइन्छ। दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।
दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू (mucosa) मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।
यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँन्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।
बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।
रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।
प्रमुख चिन्ह-लक्षणहरू:
ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ
दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।
याद राखौँ दादुरा रोग कोभिड-१९ भन्दा पनि तिब्र गतिले फैलन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ।
दादुराको विरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापनः
- शंकास्पद विरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
- महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्ने
- हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रूमालले छोप्ने
- व्यक्त्तिगन सरसफाईमा विशेष ध्यान दिने, बेला बेलामा साबुन-पानीले मिचिमिची हात धुने
- संक्रमित व्यक्त्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू नलैजाने र नपठाउने। घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने
- संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्त्तिले मास्क लगाइरहने
दादुरा संक्रमित बालबालिकालाई साविक भन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौँ। दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ।
दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।
दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।
त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।
यदि बालबालिकाहरुलाई ९ र १५ महिनामा नियमित दादुरा रुबेला खोपको २ मात्रा पुरा गराएमा लामो समय सम्म साथै जिवनभर पनि दादुरा रुबेला रोगबाट सुरक्षित हुनेछन् ।
दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ महिना पुगे पछि पहिलो मात्रा र १५ महिना पुगेपछिदोस्रो मात्रा लगाउनै पर्दछ । यदि कुनै कारणवश बालबालिकालाई खोपको कुनैपनि मात्रा लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिना भित्रमा दुबै खोपको मात्रा पुरा गराउनु पर्दछ ।
पहिला जति पटक दादुरा–रुबेलाको खोप लगाएको भएतापनि दादुरा-रुबेल खोप अभियानमा दादुरा–रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउनु पर्दछ ।
यसबाट बालबालिकालाई दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुन्छ र बालबालिकाहरु पूर्ण रुपमा यो रोगबाट सुरक्षित हुन्छन् ।