बनियानी। झापाको कचनकवल गाउँपालिका स्वास्थ्य शाखाले बनियानी स्थित लक्ष्मी माद्यामिक विद्यालयका छात्र छात्राहरुलाई विद्यालय कुष्ठरोग अभिमुखिकरण तथा खोजपड्ताल कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव,नवीन मिश्र ,महेशचन्द्र नेपाल र शिक्षकहरुको उपस्थितिमा सञ्चालन गरेको छ।

 कुष्ठरोगको परिचय :

कृष्ठरोग एक प्रकारको सरुवा रोग मध्ये कम सर्ने रोग हो, यो रोग माइकोब्याक्टेरियम लेप्रे (Mycobacterium leprae) नामक सुक्ष्म किटाणुबाट लाग्दछ । यस रोगले मानिसको शरिरको छाला र सतहको स्नायुमा असर गर्दछ।

यस रोगलाई प्राचिनकालमा कुष्ठ, कोढ, महारोग, सुन-बहिरी आदि नामले पनि चिनिन्थ्यो । समाजमा मानिसहरु पूर्व जन्मको पाप र देवी देवताको श्रापको प्रतिफल भनेर यस रोग देखि साह्रै डराउने र रोग लुकाउने गर्दथे । जसका कारण समयमै उपचार नगर्दा अपाङ्गता वा अङ्ग-भङ्ग दर उच्च हुने सम्भावना रहन्थ्यो ।

कुष्ठरोग प्राचिनकाल देखि नै मानव समाजमा परिचित हुदै आएतापनि सन् १८७३ (वि.सं. १८३०) मा नर्वेका डा. गेरहार्ड हेनरीक आर्मर ह्यान्सन (Dr. Gerhard Henrik Armauer Hansen) ले यस रोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यस रोगलाई हयान्सन्स् डिजिज (Hansen's Disease) पनि भनिन्छ ।

कुष्ठरोग लाग्नुको कारण:

यो रोग किटाणुबाट हुने अन्य सरुवा रोग जस्तै हो । मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिन्ह/लक्षण देखा पर्दछ । कुष्ठरोग पूर्व जन्मको पापको फल, देवी देवताको श्राप तथा नाग लागेर वा वंशानुगतको कारणले लाग्ने रोग होइन । यसलाई वैज्ञानिक आर्मर हयान्सनले पत्ता लगाएको कुष्ठरोगको किटाणुले प्रमाणित गर्दछ ।

कुष्ठरोगको शुरुको चिन्ह र लक्ष्णहरू :

कुष्ठरोगका किटाणु ( Mycobacterium Leprae) ले मानिसको छाला र सतहको स्नायूमा प्रभाव पार्ने भएकोले यसको चिन्ह तथा लक्षणहरु छाला र स्नायूमा देखा पर्दछन् ।

* छालामा स्पर्श शक्ति हराएका, फुस्रो, रातो, नचिलाउने दाग देखापर्नु ।

* हात खुट्टा झम्झमाउनु वा निदाए जस्तो हुनु ।

* कानको लोती, अनुहारको छाला बाक्लो, चम्किलो हुदै जानु,गिर्खाहरु देखा पर्नु ।

कृष्ठरोगको उपचार :

कुष्ठरोगको प्रकृति हेरि चिकित्सक वा स्वास्थ्य कर्मीको सल्ला अनुसार ६ महिना देखि १२ महिनासम्म औषधी खानुपर्दछ

विरामीलाई औषधी पूरा गराउन सवैको सहयोग र माया चाहिन्छ ।

• स्वास्थ्य संस्थाहरुमा कुष्ठरोग सम्बन्धि निशुल्क जाँच तथा उपचार सेवा उपलब्ध छ ।

कुष्ठरोग सर्ने तरिका :

हरेक मानिसको शरिरमा कुनै पनि सरुवा रोग विरुद्ध लड्ने शक्ति हुन्छ । त्यस्तो शक्तिले शरीरभित्र पसेका रोगका किटाणुहरुलाई नष्ट गरी रोग लाग्नबाट बचाउँछ । अध्यययन अनुसन्धानबाट के पाइएको छ भने धेरै मानिसहरुमा कुष्ठरोगसँग लड्ने क्षमता बलियो हुन्छ कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरुलाई रोग सर्दैन। यो रोग उपचार शुरु नगरेका कुष्ठरोगका विरामीबाट मात्र अरुलाई सर्न सक्दछ ।

यो रोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ । भीडभाड वा धेरै मानिस एकै ठाँउमा बस्ने गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ । धेरै किटाणु भएको वा उपचार नलिएको विरामीले श्वास फेर्दा वा हाछ्यु गर्दा कुष्ठरोगको किटाणुहरु विरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिंदा उसको शरिरमा प्रवेश

गर्दछन् । 

यो रोग विरामीको दिशा-पिसाप वा विरामीले प्रयोग गरेको भाँडा कुडा वा कपडाको पुन प्रयोग गर्दा सर्दैन । विरामीलाई लामखट्टे, उड्सले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन अर्थात विरामी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ्य नै हुन्छ ।

कृष्ठरोगको वर्तमान अवस्था:

यो रोग विश्वको जुनसुकै भौगोलिक अवस्था (हिमाल, पहाड-तराई, जाडो, गर्मी (जुनसुकै वातावरण) महिला, पुरुष, बालकदेखी वृद्धसम्म जुनसुकै उमेरका मानिसमा लाग्न सक्छ । यो रोग विविध आर्थिक, सामाजीक अवस्था र शिक्षित अशिक्षित,धनि-गरिब सबै समुदायमा पाईन्छ । नेपालको परिप्रेक्षमा हेर्ने हो भने सबैभन्दा धेरै बिरामीको चाप झापा जिल्ला लगायत तराईका जिल्लाहरुमा पाईएको छ ।

कुष्ठरोगको कारणबाट हुनसक्ने अपाङ्गता :

रोगको सुरुको अवस्थामा निदान नभई उपचार गर्न ढिलो हुनु नै अपाङ्गताको मूख्य कारण हो । मुख्यतः यस रोगले व्यक्तिको आँखा, हात र खट्टामा अङ्गभङ्ग गराउँदछ, यसैले परिवार समुदायलाई सुरुकै अवस्थामा रोग निदान र उपचारको महत्वबारे जानकारी गराउनु पर्दछ । अन्यथा अपाङ्गताको कारणबाट बिरामीलाई दिर्घकालिन रुपमा असर पर्दछ । स्नायू कार्यको क्षतिको कारण भएको अशमर्थतालाई ६ महिना अवधि भित्रकोभएमा Steroids र Physiotherapy को प्रयोगले सुधार गर्न सकिन्छ । यदि सो भन्दा लामो अवधिको भएमा यो उपचार विधिले सुधार गर्न सकिन्न । यस्तो समस्यालाई न्यूनिकरण गर्न विरामी आफैले स्वयहेरचाह विधि जान्नु पर्दछ । स्वयहेरचाह परामर्श र अभ्यास विधि स्वास्थ्य संस्थामा सिकाईन्छ ।

मूख्य सन्देश:

कुष्ठरोग : माइकोब्याक्टेरियम लेप्रे नामको किटाणुद्धारा मानिसको सरिरमा छाला र बाहिरी सतहको स्नायूमा असर पुरयाउने कम सरुवा रोग हो । बहु औषधी उपचार पद्धतीद्वारा यो रोग निको हुन्छ ।

रातो, फुस्रो दाग : सामन्यतया बिरामीले औषधीको मात्रा पुरा गरिसकेपछि समेत उपचार अघि देखा परेको दाग नहराउन सक्छ । उपचार पछि अन्य भागमा नयाँ दाग देखा पर्दैन ।

स्पर्श शक्तिको क्षति : नियमित रुपमा औषधीको मात्रा पुरा गरिसकेपछि समेत उपचार अघि देखा परेको स्पर्श शक्तिको क्षति भएको भागमा उक्त क्षति रहिरहन सक्छ । तर उपचार पछि अन्य भागमा फैलदैन ।

औषधी : रोगको अवस्था अनुसार बढि किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना बहु औषधी उपचार सेवन गर्नु पर्दछ । देशका सबै सरकारी स्वास्थ्य संस्थाहरुमा यस रोगको जाँच र औषधी निशुल्क उपलब्ध छ ।

*समयमै कुष्ठरोगको उपचार गर्नाले यो रोग अरुलाई सर्दैन र बिरामीको अङ्गभङ्ग हुन पाउँदैन । कुनै पनि प्रकारको जटिलताहरु जस्तैः आँखा, हात र खुट्टाको मांशपेशीहरु कमजोर भएमा वा घाउ देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ । 

*उपचारको क्रममा बिरामीमा रक्तअल्पता, डर्माटाइटिस जस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ । *स्पर्श शक्ति क्षति भएको भागमा उपचार पछि समेत उक्त स्पर्श शक्तिको क्षति जीवनभर रहिरहन सक्ने भएकोले उक्त भागलाई बिरामीले सुरक्षित राख्नुपर्ने हुन्छ । जस्तैः तातो, धारिलो वस्तुबाट जोगाउने, सुरक्षित जुत्ता, चस्मा लगायत सुरक्षित सामाग्रीको प्रयोग गर्ने, असर परेको भागलाई चिसोपानीले सफा गर्ने, चिल्लो लगाउने, नरम बनाउने आदी कार्यहरु बिरामी स्वयंले दैनिक घरमै गर्नु पर्दछ।