झापा । कचनकवल गाउँपालिका-५ पाठामारीस्थित जानकी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय तहबाटै कानुनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने तथा विद्यार्थीलाई आफ्नो अधिकार, कर्तव्य र सामाजिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई दैनिक जीवनमा कानुनको महत्व, नागरिक दायित्व, सामाजिक अनुशासन, साइबर अपराधबाट बच्ने उपाय तथा कानुनी सचेतनाको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले विद्यार्थीहरूलाई कानुनको ज्ञान केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक जीवनमा समेत आत्मसात गर्न आग्रह गरेका थिए।

उनीहरूले समाजमा बढ्दै गइरहेका विभिन्न प्रकारका विकृति तथा दुर्ब्यसनबाट टाढा रहँदै जिम्मेवार नागरिकका रूपमा आफूलाई विकास गर्न कानुनी सचेतना महत्वपूर्ण आधार हुने धारणा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कानुनसम्बन्धी जिज्ञासा राख्दै विभिन्न विषयमा प्रश्नसमेत गरेका थिए। विद्यालय र स्थानीय सरकारबीचको सहकार्यमा यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा कानुनी ज्ञान अभिवृद्धि गर्नुका साथै अनुशासित, जिम्मेवार र सचेत नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।