झापा, बनियानी - लक्ष्मी माध्यमिक विद्यालय, बनियानीमा पछिल्ला केही वर्षमा देखिएको सकारात्मक शैक्षिक रूपान्तरणको केन्द्रमा एक जिम्मेवार, नैतिक र दूरदर्शी नेतृत्वको स्पष्ट छाप देखिन्छ। सुकदेव पोख्रेल, जसले २०७६ माघ ६ गतेदेखि अङ्ग्रेजी विषयका स्थायी शिक्षकका रूपमा शैक्षिक यात्राको थालनी गर्दै विभिन्न विद्यालय हुँदै २०७८ जेठ १ गते यस विद्यालयमा सरुवा भएर आउनुभयो, उहाँले नेतृत्व सम्हालेपछि विद्यालयले नयाँ गति पाएको अनुभव गरिएको छ।
तत्कालीन अवस्थामा एसइई नतिजामा आएको चुनौतीपछि नेतृत्व परिवर्तनको संवेदनशील घडीमा २०८१ असार २० गतेबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका पोख्रेलले विद्यालयको गुमेको साख पुनर्स्थापित गर्ने अभियानलाई प्राथमिकता दिनुभयो। सीमित स्रोत र चुनौतीपूर्ण परिवेशबीच उहाँले शैक्षिक अनुशासन, व्यवस्थापन दक्षता र समन्वयात्मक नेतृत्वमार्फत विद्यालयमा विश्वासको वातावरण निर्माण गर्न सफल हुनुभयो।

उहाँकै कार्यकालमा रिक्त रहेको नेपाली विषयको दरबन्दी पूर्ति गर्दै २०८२ भदौ १८ गते बालकृष्ण रेग्मीलाई जिल्लान्तर सरुवाबाट भित्र्याउने कार्यले शैक्षिक जनशक्ति सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्यायो। यसले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा थप टेवा पुर्याएको देखिन्छ।
पोख्रेलको नेतृत्वले केवल प्रशासनिक सुधारमा मात्र सीमित नरही समुदायसँगको सम्बन्धलाई पनि सुदृढ बनायो। उहाँको कार्यशैलीबाट प्रभावित भई स्थानीय समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूले विद्यालयका लागि आर्थिक सहयोग र विभिन्न कोष व्यवस्थापनमा सक्रिय सहभागिता जनाउनु, उहाँप्रतिको विश्वास र सम्मानको द्योतक हो।
यसैबीच, नयाँ शैक्षिक सत्र २०८३ को पूर्वसन्ध्यामा, एक वर्षअघि मात्र सरुवा नियुक्ति पाउनुभएका शिक्षक बालकृष्ण रेग्मीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने दाबी प्रस्तुत गरेपछि उत्पन्न परिस्थितिमा पोख्रेलले देखाउनुभएको उच्च नैतिकता अनुकरणीय बनेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार २०८२ चैत २६ गते उहाँले सहज, शालीन र संस्थागत मर्यादालाई सर्वोपरि राख्दै आफ्नो पद हस्तान्तरण गर्नुभयो।
पोख्रेलको यो कदम केवल पद त्याग नभई नेतृत्वको उच्चतम आदर्श प्रस्तुत गर्ने उदाहरण हो-जहाँ व्यक्तिगत आग्रहभन्दा संस्थागत हित, सहकार्य र नैतिक मूल्यलाई प्राथमिकता दिइएको छ। उहाँको योगदानले लक्ष्मी माविको शैक्षिक यात्रामा दीर्घकालीन सकारात्मक प्रभाव छोड्ने विश्वास गर्न सकिन्छ।




















