कचनकवल - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरसँगै कचनकवल गाउँपालिकामा पनि विधिवत् सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्धारित तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

गाउँपालिका भित्र रहेका दुई परीक्षा केन्द्र-श्री लक्ष्मी माध्यमिक विद्यालय, कचनकवल-६ (बनियानी) र श्री पथरिया माध्यमिक विद्यालय, कचनकवल–३ (पथरिया)-बाट यस वर्ष कुल ५७३ परीक्षार्थी (नियमित तथा ग्रेडवृद्धि) परीक्षामा सहभागी भएका छन्।

श्री लक्ष्मी मावि केन्द्रबाट ९ विद्यालयका २६० परीक्षार्थी सहभागी छन्। यस अन्तर्गत पथरिया मावि (६०), कचनकवल विद्या मन्दिर मावि (४०), विद्या निकेतन मावि (४४), जानकी मावि बालुवाडी (२०), शिव मावि बालुवाडी (२७), जनता मावि बालुवाडी (३३), गोल्डेन फ्युचर एजुकेसन फाउन्डेसन (५), साउथ दीप एकेडेमी (६) र जानकी मावि पाठामारी (२५) का विद्यार्थीहरू रहेका छन्।

त्यसैगरी पथरिया मावि केन्द्रबाट ६ विद्यालयका ३१३ परीक्षार्थी सहभागी छन्। जसमा विद्यापाणी मावि (३९), स्वर्णिम शिक्षा सदन मावि (२६), लक्ष्मीप्रसाद देवकोटा मावि (१०३), महेन्द्र रत्न मावि (२३), मोती मावि (६५) र बुद्ध मावि (५१) का विद्यार्थीहरू समावेश छन्।

श्री लक्ष्मी मावि केन्द्राध्यक्ष सुकदेव पोख्रेलका अनुसार परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षाकर्मीको कडा निगरानी गरिएको छ। साथै, यस वर्षको विशेष अभ्यासअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्यसमेत एकसाथ अघि बढाइएको उनले जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष देशभरबाट कुल ५ लाख १२ हजार ४२१ परीक्षार्थी सहभागी भएका छन्। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६, आंशिकतर्फ ७ हजार ८५५ तथा प्राविधिक धारतर्फ १६ हजार ५७६ परीक्षार्थी रहेका छन्।

यस वर्षको परीक्षालाई अझ परिणाममुखी र समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ व्यवस्थाहरू लागू गरिएको जनाइएको छ। शिक्षामन्त्री सस्मित पोख्रेलको निर्देशनअनुसार केन्द्रमै परीक्षण प्रणाली लागू गरिएकाले करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य सरकारले राखेकाले सामुदायिक विद्यालय र शिक्षकहरुलाई विश्वासको वातावरण बनाएको सहायक केन्द्राध्यक्ष चामुनारायण नेपालले बताएका छन्।

समग्रमा, कचनकवलमा एसईई परीक्षा व्यवस्थित, मर्यादित र प्रविधिमैत्री अभ्याससहित प्रारम्भ भएको देखिन्छ, जसले शिक्षा प्रणालीमा सुधारको संकेत दिएको छ।