झापा-समुदाय र विद्यालयस्तरमै मानसिक स्वास्थ्य र लागू औषधि नियन्त्रणको विषयलाई प्राथमिकतामा राख्दै कचनकवल क्षेत्रमा “आत्महत्या न्यूनीकरण तथा लागू औषधि नियन्त्रण कार्यक्रम” प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। कार्यक्रम श्री मोती माध्यमिक विद्यालय डाँगिवारी र पथरिया माध्यमिक विद्यालय पथरियामा आयोजना गरिएको हो।

विद्यालय केन्द्रित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले किशोर-किशोरीमा मानसिक स्वास्थ्य, जीवन सीप र लागू पदार्थको जोखिमबारे सचेतना अभिवृद्धि गर्न कार्यक्रम सफल देखिएको छ। पछिल्लो समय युवापुस्तामा देखिँदै गएको मानसिक तनाव, आत्महत्याको प्रवृत्ति र लागू औषधि दुरुपयोगजस्ता चुनौतीलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमको आवश्यकता अझ बढी महसुस गरिएको छ।

कार्यक्रमको मुख्य आयोजना स्वास्थ्य चौकी पथरियाले गरेको हो। सहजीकरण तथा व्यवस्थापनमा अविनाश पाठशालाका व्यवस्थापक अविनाश मोहली, बगान युथ क्लब, बगान मेडिकल, पुजा हेल्थ क्लिनिक पथरिया पुरानो बजार तथा लामा कोल्ड सेन्टरका व्यवस्थापक दीपक तामाङले सक्रिय सहयोग पुर्‍याएका थिए।

विद्यार्थी लक्षित प्रशिक्षणमा प्रशिक्षक धनकुमारी खरेलले मानसिक स्वास्थ्यको महत्व, आत्महत्या रोकथामका उपाय, तथा लागू औषधिको दुष्परिणामबारे व्यवहारिक र प्रेरणादायी प्रस्तुति दिएकी थिइन्।

कार्यक्रम स्वास्थ्य शाखा कचनकवल प्रमुख जागेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विशेष अतिथिका रूपमा प्रहरी चौकी पथरिया प्रमुख टँक राई तथा केचना बीओपी का सशस्त्र प्रहरी निरीक्षक निर्मल बुढाथोकीको उपस्थिति रहेको थियो।

शैक्षिक संस्थागत नेतृत्वतर्फ, मोती माविको कार्यक्रम प्राचार्य छवि बस्नेतको अध्यक्षतामा र पथरिया माविको कार्यक्रम पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेधनिधि भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी घनश्याम यादवले गरेका थिए।

समग्रमा, विद्यालय र समुदायबीच सहकार्यमार्फत सञ्चालन गरिएको यस्तो पहलले युवापुस्तामा सकारात्मक व्यवहार परिवर्तन, मानसिक सुदृढता र लागू औषधि नियन्त्रणतर्फ दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।