झापा, केचना - कचनकवल गाउँपालिका वडा नं. ४ खुटामनीस्थित जमाल मियाँको कुखुरा फर्ममा विद्युत् सर्ट सर्किटका कारण आगलागी हुँदा फर्म पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक विवरणअनुसार करिब एक हप्ताका १४ सय चल्ला, दानापानी तथा संरचनासहित फर्म जलेर नष्ट हुँदा ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको समापनको तयारीमा रहेका मियाँले बिहानै कुखुराको दानापानी तथा आहार व्यवस्थापन गरी घर फर्किएका थिए। तर, उनी घर पुगेको केही मिनेटमै फर्ममा अचानक आगलागी सुरु भई तीव्र रूपमा फैलिएको बताइएको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि त्यसअघि नै सम्पूर्ण संरचना जलेर नष्ट भइसकेको थियो।

प्रारम्भिक अनुसन्धानले विद्युत् चुहावटलाई आगलागीको मुख्य कारण मानेको छ। यस घटनाले ग्रामीण क्षेत्रमा विद्युतीय सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। साथै, कृषिजन्य व्यवसायमा संलग्न उद्यमीहरूका लागि जोखिम व्यवस्थापन र बीमा जस्ता उपायहरू अपरिहार्य बन्दै गएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनु भएको छ।