बनियानी, झापा - कचनकवल गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व ईद उल-फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले शुक्रबारका दिन बिदा रहने जानकारी गराएको हो।

कचनकवल गाउँपालिकाले इस्लाम धर्मावलम्बी समुदायको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै उक्त निर्णय गरेको जनाएको छ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। रमजान महिनाभर रोजा (व्रत), प्रार्थना र आत्मसंयमको अभ्यासपछि शाव्वाल महिनाको पहिलो दिन ईद मनाइन्छ। ‘ईद उल-फित्र’ को अर्थ नै व्रत समाप्तिको पर्व भन्ने हुन्छ।

चन्द्रमाको गतिका आधारमा तय गरिने यो पर्व रमजान सकिएपछि शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ। ईदका दिन मस्जिद तथा खुला स्थानमा विशेष नमाज (प्रार्थना) अदा गरिन्छ, जहाँ मोल्वी (धर्मगुरु)ले कुरानका शिक्षामार्फत सदाचार र सत्कर्मको सन्देश दिन्छन्।

यस पर्वका अवसरमा नयाँ लुगा लगाउने, सेवइ, खिर तथा विभिन्न मिठाइहरू तयार पारेर आपसमा बाँड्ने र शुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ।

FB_IMG_1773916987985