झापा, बनियानी - विश्व दन्त दिवस (२० मार्च) को अवसरमा श्री लक्ष्मी माध्यमिक विद्यालय, बनियानीको विद्यालय स्वास्थ्य इकाइद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सचेतनालाई व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति जिम्मेवारीबोध अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

विद्यालय स्वास्थ्य इकाइका संयोजक तथा प्रधानाध्यापक सुकदेव पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले दन्त स्वास्थ्य, सरसफाइ र जीवनशैलीसँग यसको सम्बन्धबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन विद्यालय नर्स अम्बिका विश्वकर्माले गर्नुभएको थियो भने निर्णायक मण्डलको तर्फबाट नतिजा शिक्षक बालकृष्ण रेग्मीले घोषणा गर्नुभएको थियो।

प्रतियोगितामा स्मृति सिटौला, स्वाती शाह, शुशिला टुडु, अन्त्रा खड्का, जय प्रसाद राजवंशी र निखिल राजवंशीले उत्साहजनक सहभागिता जनाउँदै दन्त स्वास्थ्यको महत्व, सरसफाइ र जीवनशैलीसँग यसको सम्बन्धबारे आफ्ना तर्कसहित विचार प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूले कार्यक्रमलाई बौद्धिक तथा प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा स्मृति सिटौला प्रथम, शुशिला टुडु द्वितीय र स्वाती शाह तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएका छन्। समापन मन्तव्य व्यक्त गर्दै संयोजक पोख्रेलले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उल्लेख गर्दै विद्यालय तहबाटै व्यवहारिक स्वास्थ्य शिक्षामा जोड दिनुपर्नेमा जोड दिनुभयो।