झापा, भद्रपुर - सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कारका रूपमा आत्मसात् गर्दै आएको सशस्त्र प्रहरी बल नेपालले भद्रपुर नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा आयोजना गरिएको उक्त शिविर सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाको समन्वयमा सम्पन्न भएको हो।

भद्रपुर-३ स्थित हातिमारा अरनिको माध्यमिक विद्यालयको बाल शिक्षा भवनमा आयोजित कार्यक्रममा B&C अस्पताल बिर्तामोड तथा सशस्त्र प्रहरी फिल्ड अस्पताल पकलीको प्राविधिक सहयोग रहेको थियो। १५ जना चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको शिविरमा ३१५ भन्दा बढी स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले यस्ता सेवामूलक पहलहरूले राज्यप्रतिको जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुरक्षा निकायको मानवीय पक्षलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।

उक्त शिविरले सशस्त्र प्रहरी बल केवल सुरक्षा संरचनामा सीमित नभई सामाजिक सेवामा पनि उत्तिकै जिम्मेवार र उत्तरदायी निकायका रूपमा स्थापित हुँदै गएको स्पष्ट सन्देश दिएको छ।

स्थानीय जनप्रतिनिधि, सुरक्षा अधिकारी तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रमले ग्रामीण तथा शहरी क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई थप सार्थक बनाएको देखिन्छ। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी, सीमा सुरक्षा गुल्मपति शंकर शाह, प्रमुख सेनानी सरोज थापा तथा बिओपी पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।