झापा । गत भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियार अन्ततः प्रहरीले बरामद गर्न सफल भएको छ। बरामद सामग्रीमा एक थान CF 989 MM पेस्तोल, सोही पेस्तोलको म्याग्जिन एक थान तथा ४० राउण्ड गोली रहेका छन्।

विशेष सूचनाका आधारमा झापा जिल्लाको कन्काई नगरपालिका-८ मिश्रा टोल स्थित तुल बहादुर थापा मगरको घरमा लागूऔषध तथा अवैध हातहतियार लुकाई राखिएको आशंकापछि प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोली र लागूऔषध ब्युरो काकभिट्टा बाट परिचालित प्रहरीको सहकार्यमा गरिएको खानतलासीका क्रममा हातहतियार फेला परेको हो।

प्रहरीका अनुसार तुल बहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरभित्र प्लास्टिकको ड्रममा उक्त हातहतियार लुकाई राखेका थिए। अनुसन्धानबाट बरामद पेस्तोल, म्याग्जिन र गोली भाद्र २४ गतेको आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको पुष्टि भएको जनाइएको छ।

CamScanner 16-02-2026 13.05

घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका-८ बस्ने २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। मुख्य अभियुक्त मानिएका सौगात थापा मगर भने फरार रहेकाले उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

सार्वजनिक सुरक्षा र कानुनी शासनको दृष्टिले संवेदनशील मानिने यस घटनाले आन्दोलनका नाममा हुने अवैध गतिविधिप्रति राज्य संयन्त्रको सतर्कता र अनुसन्धान क्षमताको परीक्षण गरेको देखिन्छ। प्रहरीले सूचनाको सूक्ष्म विश्लेषण, समन्वित परिचालन र कानुनी प्रक्रियाको पालना गर्दै बरामदगी गर्न सफल हुनु कानून कार्यान्वयनको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।