काठमाडौँ । नेपाली चलचित्र जगतले आज एक अनुभवी र प्रभावशाली कलाकारलाई सदाका लागि गुमाएको छ। खलनायक भूमिकालाई पनि नायक सरह उचाइमा पुर्याउन सफल वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण आज बिहान निधन भएको छ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली मात्र होइन, भारतीय चलचित्र उद्योगमा समेत सक्रिय थिए।
नेपाली चलचित्रमा खलनायक पात्रलाई हेर्ने दृष्टिकोण नै बदलिदिने कलाकारका रूपमा सुनिल थापा स्थापित भए। ‘राते काइँला’ नामले दर्शकमाझ अमिट छाप छोड्न सफल उनी, नकारात्मक भूमिकामार्फत पनि कथा, समाज र पात्रको गहिरो मनोविज्ञान उजागर गर्न सक्ने दुर्लभ कलाकार थिए। उनको अभिनयमा कठोरता मात्र होइन, संवेदना र यथार्थको मिश्रण देखिन्थ्यो, जसले दर्शकलाई सोच्न बाध्य पार्थ्यो।
थापाको जीवन केवल पर्दामा सीमित रहेन। उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने यात्रामा पनि महत्वपूर्ण योगदान पुर्याए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।
आज उनको अवसानसँगै नेपाली चलचित्र उद्योगले एउटा सशक्त अभिनयशैली, साहसी प्रस्तुति र प्रतिबद्ध कलाकार गुमाएको छ। सुनिल थापा अब शारीरिक रूपमा हामीबीच नरहे पनि, उनका अभिनय, पात्र र स्मृतिहरू नेपाली सिने इतिहासमा सधैँ जीवित रहनेछन्।




















