काठमाडौँ । निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालको प्रयोग तीव्र बन्दै जाँदा त्यसको दुरूपयोगप्रति नेपाल प्रहरीले गम्भीर चासो व्यक्त गरेको छ। विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालमा अत्यधिक सक्रिय भइरहेका बेला क्षणिक आवेगमा गरिएका गालीगलौज, मित्थ्या सूचना सेअर तथा कसैको व्यक्तिगत चरित्रहत्या कानुनी कारबाहीको कारण बन्न सक्ने चेतावनी प्रहरीले दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार हाल सामाजिक सञ्जालमाथि उच्च निगरानी राखिएको छ। गलत, झुट्टा वा भ्रमपूर्ण सूचना सार्वजनिक गरिएको खण्डमा कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे। उनका अनुसार सामाजिक सञ्जालको दुरूपयोग रोक्न प्रहरीद्वारा विशेष टोली गठन गरी अनुगमन भइरहेको छ भने प्रहरीको साइबर ब्यूरोले समेत सूक्ष्म निगरानी गरिरहेको छ।
प्रवक्ता काफ्लेले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत गलत सूचना फैलाउने, जातीय, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्रहत्या गर्ने तथा शान्ति-सुरक्षामा असर पार्ने सामग्री उत्पादन वा सेअर गर्नु अपराध भएको जानकारी दिए। कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो वा भ्रामक ढंगले काटछाँट गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्ट गरेर प्रोत्साहन नगर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ।
उनले कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि दण्डनीय कार्य भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा देखिएका कुनै पनि सामग्री सेअर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न आग्रह गरे।
प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। जिम्मेवार नागरिक बनौँ र समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैले सहयोग गरौँ।”




















