विराटनगर : मोरङको विराटचोकमा आयोजना गरिएको नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बल (एपीएफ) का उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।
नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (बीएसएफ) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए। बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्। अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए। बेहोस हुने क्रममा उनको जिब्रो काटिएको थियो भने स्वास्थ्य अवस्था तीव्र रूपमा जटिल बन्दै गएपछि भेन्टिलेटरको सहायतासमेत लिइएको थियो। यद्यपि, चिकित्सकको निरन्तर प्रयासका बाबजुद उनलाई बचाउन सकिएन।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरे बैठकमा सक्रिय सहभागिता जनाइरहेका बेला अचानक ढलेको बताइएको छ। हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ र आफन्त तथा परिवारजनलाई घटनाबारे जानकारी गराइसकिएको अस्पतालले जनाएको छ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै बैठककै क्रममा घिमिरे अचानक ढलेको र तत्काल उपचारका लागि लगिएको भए पनि अस्पताल तथा चिकित्सकको प्रयास सफल हुन नसकेको बताए।
उल्लेखनीय छ, एसपी घिमिरे हालै सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भएका थिए र शनिबार त्यहाँ कार्यभार सम्हाल्ने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै उनको असामयिक निधन भएको हो।
सुरक्षा निकायका एक अनुभवी अधिकृतको अचानक निधनले सशस्त्र प्रहरी बलमा शोकको वातावरण छाएको छ।




















