भद्रपुर, झापा - भद्रपुर नगरपालिका वडा नं. १० त्रिवेणी टोलमा घटेको एक अत्यन्तै गम्भीर र रहस्यमय घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। आफ्नै घरभित्र परिवारसँग बसिरहेका ६६ वर्षीय अवकाशप्राप्त शिक्षक खेमराज ढकालको केमिकलयुक्त तरल पदार्थ प्रयोग गरी हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८२ साल माघ २२ गते साँझ करिब १८:२० बजे अभियुक्त २६ वर्षीय दिपेश कुमार सिंहले आफू साथमा ल्याएको तरल पदार्थ भरिएको सिरिन्ज प्रयोग गरी एक्कासि ढकालको घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा तत्कालै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
अभियुक्त दिपेश कुमार सिंह जिल्ला सिरहा, विष्णुपुर गाउँपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन् भने हाल धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS चौथो वर्षमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट अभियुक्त घटनास्थलमा योजनाबद्ध रूपमा आएको देखिएको छ। प्रहरीका अनुसार उनी सोही दिन बिहान मृतकको घरमा “अवकाशप्राप्त शिक्षक खोजिदिनुपर्यो” भन्ने बहानामा पुगेका थिए, जसलाई घटनाको पूर्वतयारीको रूपमा हेर्न थालिएको छ।
घटनाको पृष्ठभूमि अझै गम्भीर देखिन्छ। मृतकका परिवारजनले दिएको जानकारी अनुसार मृतककी छोरी पनि सोही प्रतिष्ठानमा MBBS तेस्रो वर्षमा अध्ययनरत छिन्। करिब ८-९ महिना अघि अभियुक्तले मृतककी छोरीको बदनाम गर्ने उद्देश्यले तस्बिर सम्पादन गरी पठाएको र त्यसविरुद्ध धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो। यही पुरानो विवाद नै हालको जघन्य अपराधसँग जोडिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनामा प्रयोग गरिएको तरल पदार्थमा के-कुन रसायन मिसाइएको थियो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार ल्याब परीक्षणपछि मात्रै त्यसको यकिन विवरण सार्वजनिक हुनेछ। अभियुक्तलाई घटना घटेको दिन नै पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनालाई अत्यन्तै संवेदनशील मान्दै सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ। शैक्षिक संस्थामा अध्ययनरत व्यक्तिबाट यति योजनाबद्ध र घातक अपराध हुनु समाजका लागि गम्भीर चेतावनी भएको विश्लेषकहरू बताउँछन्। सत्य तथ्य छिट्टै सार्वजनिक हुने विश्वाससहित प्रहरीले जनतालाई अफवाहमा नलाग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।




















