झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा ठूलो परिमाणको लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्। मिति २०८२ साल १० महिना १९ गते साँझ करिब ५:३५ बजे, विमानस्थल सुरक्षा गार्ड भद्रपुरमा खटिएको प्रहरी टोलीले यती एयरलाइन्सको फ्लाइट नम्बर ९२६ बाट भद्रपुरदेखि काठमाडौँ जान लागेकी एक यात्रुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला हुम्ला, खार्पुनाथ गाउँपालिका-२ स्थायी घर भई हाल भारतको कोलकातास्थित स्वंव जापानिज रेष्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरको काम गर्दै आएकी २६ वर्षीया रोशनी बुढा रहेकी छन्। प्रहरीका अनुसार उनले लगाएको सुरुवालको दुवै गोजीभित्र प्लाष्टिकका दुई वटा पोकामा राखिएको खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको हो। प्लाष्टिक बाहेक उक्त लागूऔषधको तौल १४४ ग्राम ४०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

कानून बमोजिम लागूऔषधसहित रोशनी बुढालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले अन्य कारोबारीहरू काठमाडौँमा समेत संलग्न रहेको खुलासा गरेपछि अनुसन्धानको दायरा विस्तार गरिएको प्रहरीले बताएको छ।

उक्त सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६, खड्का भद्रकाली क्षेत्रबाट थप दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका-६ निवासी ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-५ गुन्साल निवासी २१ वर्षीय थोर्मस तामाङ रहेका छन्।

हाल तीनै जनामाथि लागूऔषध कारोबारसँग सम्बन्धित कसूरमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाले अन्तरजिल्ला तथा अन्तर्राष्ट्रिय तहसम्म फैलिएको लागूऔषध सञ्जालको संकेत गरेको भन्दै यस विषयमा गहिरो अनुसन्धान गरिँदैछ।