झापा, माघ १८ - नक्कली सुन धरौटी राखी नगद ठगी गर्ने एक व्यक्तिलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

माघ १५ गते साँझ करिब ५ः३० बजेको समयमा झापा जिल्लाको भद्रपुर नगरपालिका-५ स्थित भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्स मा सुनजस्तै देखिने पहेंलो धातु धरौटी राख्न खोज्दा उक्त धातु नक्कली भएको शंका लागेपछि सुन पसल सञ्चालकले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएका थिए।

सूचनापछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-३ निवासी मंगलबहादुर बि.क. का ४३ वर्षीय छोरा जित बि.बि.क. लाई नियन्त्रणमा लिई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको थियो। थप अनुसन्धानका लागि मिति २०८२ साल माघ १६ गते उनलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नक्कली सुनलाई सक्कली गहना भन्दै ‘आपत्कालीन आर्थिक समस्या’ परेको बहाना बनाएर यसअघि पनि बिर्तामोड क्षेत्रलगायत विभिन्न स्थानका सुन पसलहरूमा नगद ठगी गरेको खुल्न आएको छ।

निज अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा मिति २०८२ साल माघ १५ गतेदेखि ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीले यस्ता घटनाबाट सचेत रहन सुन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।