झापा - नवोदित कानुन व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मस्यौदा लेखन तालिम झापाको भद्रपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सम्पन्न एकदिवसीय तालिममा जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव एवम् झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रका सचिव अधिवक्ता नरेश खातीले गर्नुभएको थियो।

तालिममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल र अधिवक्ता बसन्त जोशीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। व्यावहारिक कानुनी लेखन, मस्यौदा तयारीका आधारभूत सिद्धान्त तथा न्यायिक अभ्यासमा यसको महत्त्वका विषयमा केन्द्रित तालिममा २० जनाभन्दा बढी नवोदित कानुन व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।

कानुनी शिक्षा र जनचेतना अभिवृद्धिलाई लक्ष्य गरी स्थापित कानुनी ज्ञान केन्द्र झापाको कार्यसमितिमा अध्यक्षमा अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल, सचिवमा अधिवक्ता नरेश खाती, सहसचिवमा अधिवक्ता अनु रावत, कोषाध्यक्षमा अधिवक्ता सुरज मैनाली तथा सदस्यहरूमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहनुभएको छ।

कार्यक्रमले नवोदित कानुन व्यवसायीहरूलाई व्यावसायिक दक्षता, कानुनी लेखनको सुदृढ अभ्यास र न्यायिक प्रक्रियाप्रति गहिरो समझ विकसित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।