बनियानी । कचनकवल सन्थाल युवा परिवारको आयोजनामा कचनकवल गाउँपालिका-६(बनियानी) स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय परिसरमा दोस्रो ‘दिसोम सोहाराय पर्व २०८२’ सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सन्थाल समुदायको मौलिक पहिचान, सांस्कृतिक चेतना र सामूहिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त पर्वले स्थानीय तहमा सांस्कृतिक विविधताको संरक्षण र सम्मानको सशक्त सन्देश प्रवाह गरेको छ।
कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी प्रमुख अतिथिका रूपमा सहभागी हुने तालिका रहे पनि अकस्मात स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन नसकेको अध्यक्षको सचिवालयले जनाएको छ। यद्यपि, विशिष्ट अतिथि नवराज भट्टराई, महिला नेतृ सेलेतुन खातुन तथा सामाजिक अभियन्ता कर्ण राजवँशीको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि नवराज भट्टराईले दिसोम सोहाराय पर्व सन्थाल समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै भन्नुभयो,
“दिसोम सोहारायले सन्थाल समुदायको ऐतिहासिक चेतना, प्रकृतिप्रतिको सम्मान र सामूहिक जीवन पद्धतिलाई उजागर गर्छ। यस्ता पर्वहरूको निरन्तरता स्थानीय संस्कृति संरक्षण मात्र होइन, भावी पुस्तामा पहिचान हस्तान्तरण गर्ने बलियो आधार हो।”
उहाँले समुदाय-आधारित सांस्कृतिक पहलहरूलाई राज्य र स्थानीय तहले संस्थागत रूपमा समर्थन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
कार्यक्रमको अध्यक्षता हपनबाबु मर्डीले गर्नुभएको थियो भने सञ्चालन दिलिप किस्कुले गर्नुभएको थियो। कार्यक्रममा हल्दिवारी-३ (बागडाँगा), कचनकवल-६ (पैनीटोला), कचनकवल-५ (खुमरुभिट्टा) र कचनकवल-७ (बालुवाडी) का सन्थाल नृत्य टोलीहरूले उत्कृष्ट सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुति गर्ने टोलीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, सन्थाल जातिको परम्परागत तीर खेल ‘बुझातुन’ को प्रदर्शनले दर्शकहरूको विशेष आकर्षण थपेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले दिसोम सोहाराय पर्व सन्थाल समुदायको सांस्कृतिक आत्मा र सामाजिक समन्वयको प्रतीक भएको उल्लेख गर्दै यस्ता उत्सवहरूले सांस्कृतिक विविधतालाई संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा र सामूहिक उत्सवले सन्थाल समुदायको जीवनशैली, मूल्य र सांस्कृतिक गरिमालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
आयोजक कचनकवल सन्थाल युवा परिवारले आगामी दिनमा पनि समुदायको पहिचान, अधिकार र संस्कृतिको संरक्षणमा केन्द्रित यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन्।




















