झापा । सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२’ बाट सम्मानित भएका छन्।

हल्दीबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, पुरस्कारदाता उपप्रमुख राधा कार्की तथा हल्दीबारी जेसिजकी संस्थापक अध्यक्ष युनिता दवाडीले संयुक्त रूपमा बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई समाजप्रतिको उच्च सामाजिक उत्तरदायित्व, मानव सेवामा १२० औँ पटक रक्तदानमार्फत पुर्‍याएको अतुलनीय योगदान तथा विभिन्न सामाजिक संघ-संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।