२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। दिल्लीस्थित आफ्नै निवासमा आज उहाँको निधन भएको खबरले नेपाली तथा भारतीय मनोरञ्जन क्षेत्र शोकमा डुबेको छ।
इन्डियन आइडलको उपाधि जितेर अन्तर्राष्ट्रिय स्तरमा परिचित भएका तामाङ नेपाली सांगीतिक क्षेत्रमा अत्यन्तै लोकप्रिय नाम थिए। सरल स्वभाव, सशक्त स्वर र भावनाले भरिएका गीतमार्फत उहाँले लाखौँ श्रोताको मन जित्नुभएको थियो। उहाँले गाएका थुप्रै नेपाली गीत आज पनि श्रोतामाझ उत्तिकै प्रिय छन्।
संगीतसँगै अभिनयमा समेत आफ्नो पहिचान बनाएका तामाङले सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गर्नुभएको थियो। यसले उहाँको कला सीमाभन्दा बाहिरसम्म फैलिएको प्रमाणित गरेको थियो।
प्रशान्त तामाङको असामयिक निधनले नेपाली कला-संस्कृति क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको स्वर, संघर्ष र सफलताको कथा सधैं प्रेरणाका रूपमा स्मरणीय रहनेछ।
स्व. तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा प्रशंसकप्रति काजी खबर परिवार गहिरो समवेदना व्यक्त गर्दछौं।




















