झापा । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार झापा जिल्लाका १५ वटा स्थानीय तहमा गरिबीको अवस्था स्पष्ट रूपमा फरक-फरक देखिएको छ। जनसंख्याको अनुपातमा हेर्दा मेचीनगर नगरपालिकामा गरिबीको संख्या सबैभन्दा धेरै र हल्दिवारी गाउँपालिकामा सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ।

तथ्याङ्क अनुसार मेचीनगर नगरपालिकाको कुल जनसंख्या १ लाख ३३ हजार ७३ जना मध्ये २१ हजार ८ सय ८९ जना गरिबीको रेखामुनि रहेका छन्, जुन झापाका स्थानीय तहमध्ये सबैभन्दा उच्च संख्या हो। त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा ३५ हजार ५ सय ६ जना जनसंख्या मध्ये ७ हजार ८ सय १९ जना गरिब रहेका छन्, जसले शहरी क्षेत्रमा पनि गरिबी गम्भीर चुनौतीका रूपमा रहेको संकेत गर्छ।

यता हल्दिवारी गाउँपालिकामा कुल जनसंख्या ३२ हजार ७२२ मध्ये १ हजार १७६ जना मात्रै गरिबीको रेखामुनि रहेको तथ्यांक छ, जुन जिल्लाकै सबैभन्दा कम हो। यसैगरी बुद्धशान्ति गाउँपालिकामा १ हजार ६०९ र बाह्रदशी गाउँपालिकामा १ हजार ६३३ जना गरिब रहेका छन्।

कचनकवल गाउँपालिकामा कुल जनसंख्या ४१ हजार ३१७ मध्ये ४ हजार ३५६ जना गरिबीको रेखामुनि छन्। कचनकवलको वर्तमान अवस्थाबारे धारणा राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले गरिबी न्युनीकरणका लागि संरचनात्मक र तथ्यमा आधारित हस्तक्षेप आवश्यक रहेको बताउनुभयो।

IMG_20260110_104458

उहाँले भन्नुभयो,“कचनकवलमा गरिबी घटाउन कृषि क्षेत्रको आधुनिकिकरण, विविधिकरण र व्यवसायीकरण अपरिहार्य छ। किसानको उत्पादनलाई बजारसँग जोड्ने बजार पहुँचको सिर्जना, साझा सुविधा केन्द्रको स्थापना, सिँचाइ र खानेपानी सुविधाको विस्तार अहिलेको प्राथमिक आवश्यकता हो। त्यस्तै, Database को प्रयोग गरेर प्रमाणमा आधारित नीति निर्माण र योजनाको छनौटमा केन्द्रित हुन सके मात्र गरिबीलाई दिगो रूपमा तल झार्न सकिन्छ।”

पोख्रेलका अनुसार स्थानीय तहले तथ्याङ्कलाई केवल प्रतिवेदनमा सीमित नराखी विकास योजनाको आधार बनाउन सके झापामा देखिएको क्षेत्रगत असमानता कम गर्न सकिनेछ। सार्वजनिक भएको यो तथ्याङ्कले झापाका स्थानीय सरकारहरूलाई गरिबी न्युनीकरणतर्फ अझ जिम्मेवार र रणनीतिक रूपमा अघि बढ्न स्पष्ट सन्देश दिएको छ।