झापा । लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर सक्रिय इप्रका अनारमनी झापाले पुनः एक उल्लेखनीय सफलता हासिल गरेको छ। मिति २०८२।०९।२५ गते साँझ करिब १९:४० बजेको समयमा बिर्तामोड नगरपालिका-४ मुनाल टोल क्षेत्रमा खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इप्रका अनारमनीबाट खटिएका प्रहरी निरीक्षक प्रविण श्रेष्ठ तथा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा शाखाबाट प्रहरी हवल्दार पञ्च नारायण मेहताको कमाण्डमा खटिएको संयुक्त टोलीले भद्रपुर नगरपालिका-१ पाण्डे चोक बस्ने २५ वर्षीय निरोज लिम्बु र भद्रपुर नगरपालिका-२ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधानलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ४६ ग्राम (प्लास्टिक बाहेक ४१ ग्राम ५८० मिलिग्राम), स्क्रिन टच मोबाइल २ थान, किप्याड मोबाइल १ थान तथा प्र.१-०१-०१५ प ३४२७ नम्बरको स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त स्थान इप्रका अनारमनीबाट करिब ३ किलोमिटर पश्चिम-दक्षिणमा पर्दछ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा राखिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमै उल्लेखनीय प्रमाण संकलन गर्नुका साथै सम्भावित लागुऔषध सञ्जालमाथि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
यस घटनाले लागुऔषध नियन्त्रणमा झापा प्रहरीले देखाएको सजगताको स्पष्ट सन्देश दिएको छ। सीमावर्ती जिल्ला झापामा लागुऔषधको जोखिम बढिरहेका बेला प्रहरीले सूचनाको प्रभावकारी प्रयोग, अन्तर-निकाय समन्वय र तत्काल कारबाहीमार्फत समाजलाई सुरक्षित राख्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छ।
सार्वजनिक सुरक्षा र युवा पुस्ताको भविष्य जोगाउने यस किसिमको सक्रियता र पेशागत प्रतिबद्धताका लागि इप्रका अनारमनी तथा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा शाखाको संयुक्त प्रहरी टोली प्रशंसाको पात्र बनेको छ।




















