बनियानी (झापा) । अपांगता भएका व्यक्तिहरूको अधिकार, नेतृत्व विकास र सामाजिक समावेशीकरणलाई केन्द्रमा राख्दै कचनकवल अपांगता संस्था(बनियानी),झापाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो ऐतिहासिक अधिवेशन कचनकवल गाउँपालिका वडा नम्बर-२ स्थित सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कचनकवल वडा नम्बर २ का वडाध्यक्ष लेखनाथ खत्री प्रमुख अतिथि रहनु भएको थियो भने गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवँशी विशिष्ट अतिथि तथा उपाध्यक्ष नवराज भट्टराई अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। यस्तै कार्यपालिका सदस्य उमाशंकर गणेश, महिला समाजसेवी सेलेतुन खातुन, एसएनजेडी प्रतिनिधि हेमकुमार गणेश र संकल्प परियोजना प्रतिनिधि जिन्नत वेगमको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डम्बरबहादुर रिमालले गर्नुभएको थियो।

प्रमुख अतिथि वडाध्यक्ष लेखनाथ खत्रीले अपांगता भएका व्यक्तिहरूलाई दयाको दृष्टिले होइन, अधिकारका दृष्टिले हेर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय सरकार अपांगता मैत्री नीति, पूर्वाधार र कार्यक्रम निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले वडा तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवँशीले अपांगता भएका व्यक्तिहरू सामाजिक विकासका सक्रिय साझेदार भएको स्पष्ट पार्नुभयो। “समावेशी विकास बिना दिगो समृद्धि सम्भव छैन,” भन्दै उहाँले पालिकाले शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीमा अपांगता लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले अपांगता संस्थाहरूको संस्थागत सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले महिला, अपांगता र विपन्न वर्गलाई केन्द्रमा राखेर स्थानीय तहले सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।

महिला समाजसेवी सेलेतुन खातुनले समाजमा अझै पनि अपांगता भएका व्यक्तिहरूले भोग्नुपरेका सामाजिक चुनौतीहरू औंल्याउँदै चेतनाको अभाव मुख्य समस्या भएको बताउनुभयो। उहाँले समुदायस्तरमै सोच परिवर्तनका कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।

Screenshot_2026-01-10-07-24-24-024_com.whatsapp-edit

कार्यक्रमका अध्यक्ष डम्बरबहादुर रिमालले संस्थाले अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण, क्षमता विकास र आत्मनिर्भरता प्रवर्द्धनमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। स्थानीय सरकार, संघ–संस्था र समुदायसँग सहकार्य गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो।

Screenshot_2026-01-10-07-25-00-080_com.whatsapp-edit

सँस्थाले कचनकवल क्षेत्रमा अपांगता भएका व्यक्तिहरूको आवाजलाई संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको खेलिरहेको छ।