झापा । कचनकवल गाउँपालिका-३ पथरियामा अवस्थित पथरिया माद्यामिक विद्यालयका वरिष्ठ विज्ञान शिक्षक भैरव प्रसाद सिंह राजवँशी आजबाट अनिवार्य अवकाशमा प्रवेश गर्नुभएको छ। लामो समयसम्म विद्यालयको शैक्षिक उन्नयन र विज्ञान शिक्षाको विकासमा समर्पित रहनु भएका राजवँशीको अवकाशसँगै विद्यालयले एक अनुभवी, कर्मठ र बौद्धिक शिक्षक गुमाएको छ।

शिक्षण पेशामा अनुशासन, निरन्तर अध्ययन र विद्यार्थीमैत्री व्यवहारका लागि परिचित राजवँशीले पथरिया माविमा कार्यरत रहँदा विज्ञान विषयलाई व्यवहारिक, सरल र जीवनोपयोगी बनाउने प्रयास गर्नुभएको थियो। उहाँको शिक्षण शैलीले थुप्रै विद्यार्थीलाई विज्ञान विषयप्रति आकर्षित गर्नुका साथै उच्च शिक्षा तथा प्राविधिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको विद्यालय परिवारको भनाइ छ।

विद्यालय प्रशासनका अनुसार राजवँशीको योगदान कक्षाकोठामा सीमित नरही विद्यालयको समग्र शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण रह्यो। सहकर्मी शिक्षकहरूका लागि उहाँ एक मार्गदर्शक र विद्यार्थीहरूका लागि अनुकरणीय शिक्षकका रूपमा स्थापित हुनुहुन्थ्यो।

अनिवार्य अवकाशसँगै औपचारिक जिम्मेवारीबाट अलग हुनुभए पनि शिक्षा क्षेत्रमा उहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने विद्यालयले जनाएको छ। स्थानीय समुदाय, विद्यार्थी तथा अभिभावकहरूले पनि उहाँको सेवा, समर्पण र निष्ठाप्रति उच्च सम्मान व्यक्त गर्दै स्वस्थ, सुखद र सम्मानित अवकाश जीवनको कामना गरेका छन्।