पथरिया (झापा) । कचनकवल गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय तथा पालिका पशु अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ। सेवा, सुशासन र स्थानीय उत्पादनशीलतालाई एकै स्थानबाट मजबुत बनाउने उद्देश्यसहित निर्माण सम्पन्न उक्त संरचनाको उद्घाटन कोशी प्रदेश भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री निवर्तमान भूमि प्रसाद राजवंशी तथा विशिष्ट अतिथिहरूको संयुक्त उपस्थितिमा सम्पन्न भयो।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, वडाध्यक्ष लेखनाथ खत्री, चिन्तामणी खरेल र भरत राजवंशीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ग्यास अजमल मियाले गर्नुभएको थियो भने सञ्चालन उमेश मिश्रले गर्नुभएको थियो। समारोहमा समाजसेवी, राजनीतिकर्मी तथा स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूमि प्रसाद राजवंशीले स्थानीय तहको सेवा प्रवाहलाई गुणस्तरीय बनाउने दिशामा वडा कार्यालय र पशु अस्पतालको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।
“स्थानीय सरकारको सशक्तिकरण भनेकै नागरिकले आफ्नै वडामा छिटो, सहज र पारदर्शी सेवा पाउनु हो। पशुपालन ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले पशु अस्पतालले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिनेछ,” उहाँले भन्नुभयो।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले पूर्वाधार मात्र होइन, त्यसको प्रभावकारी सञ्चालन र सेवाको गुणस्तर नै मुख्य चुनौती भएको उल्लेख गर्नुभयो।
“आज उद्घाटनसँगै हाम्रो जिम्मेवारी अझ बढेको छ। वडा कार्यालय र पशु अस्पताललाई नागरिकमैत्री, जवाफदेही र परिणाममुखी बनाउँदै लैजानु नै हाम्रो प्रतिबद्धता हो,” अध्यक्ष राजवंशीले स्पष्ट पार्नुभयो।
उपाध्यक्ष नवराज भट्टराईले पशु अस्पतालले स्थानीय किसानलाई प्रत्यक्ष राहत दिने विश्वास व्यक्त गर्नुभयो।
“पशु उपचार सेवा गाउँमै उपलब्ध हुँदा किसानको समय, खर्च र जोखिम तीनै घट्छ। यसले पशुपालनलाई व्यवसायिक बनाउन टेवा पुग्नेछ,” उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष ग्यास अजमल मियाले वडाको दीर्घकालीन विकासमा संरचनागत पूर्वाधारले मार्ग प्रशस्त गर्ने बताउनुभयो।
“यो भवन केवल इँटा-ढुंगाको संरचना होइन, नागरिकको भरोसा र सेवाको केन्द्र हो। वडावासीको सहयोग र सहभागिताले यसलाई अझ प्रभावकारी बनाइनेछ,” उहाँले भन्नुभयो।
उल्लेखनीय रूपमा, वडा कार्यालय तथा पशु अस्पताल निर्माणका लागि स्थानीय मनकारी जग्गादाता कुलप्रसाद न्यौपानेले स्वर्गीय आमाबुबा नारायण प्रसाद न्यौपाने र स्वर्गीय पृथिमाया न्यौपानेको स्मृतिमा ३ कट्ठा क्षेत्रफलको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ, जसलाई वक्ताहरूले सामाजिक उत्तरदायित्वको प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरेका थिए।
वडा कार्यालय तथा पालिका पशु अस्पताल उद्घाटन समारोहका अवसरमा ३ कट्ठा जग्गा निःशुल्क प्रदान गर्ने स्थानीय मनकारी जग्गादाता कुलप्रसाद न्यौपाने दम्पतीलाई दोसल्ला ओढाई सम्मानपत्रद्वारा औपचारिक रूपमा सम्मान गरिएको छ।
उद्घाटन कार्यक्रम प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको संयुक्त बाहुलीबाट उद्घाटन गर्दै सम्पन्न गरिएको थियो। वडा कार्यालय र पशु अस्पताल सञ्चालनमा आएसँगै कचनकवल-३ का नागरिकले प्रशासनिक सेवा र पशु स्वास्थ्य सेवा एकै स्थानबाट प्राप्त गर्ने अपेक्षा गरिएको छ।




















