बनियानी, झापा - कचनकवल गाउँपालिका-६ स्थित नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाको १२औँ साधारण सभा तथा चौथो अधिवेशनबाट रवि चन्द्र ओझा पुनः सर्वसम्मत रूपमा अध्यक्षमा दोहोरिएका छन्। औपचारिक रूपमा कार्यक्रम सफल र सर्वस्वीकार्य देखिए पनि, अधिवेशनको भित्री प्रवाहले सहकारीभित्र उठ्न नदिइएका प्रश्न र दबाइएका असहमतिको संकेत भने स्पष्ट देखायो।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवंशीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य बसन्त कुमार बानिया, गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईलगायत विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न अधिवेशनमा नयाँ कार्यसमिति चयन गरियो। उपाध्यक्षमा अम्बिका ओझा तथा सदस्यहरूमा भुपाल कार्की, लक्षिमा खतिवडा, रुपा खनाल, मिना कार्की, कार्तिक लाल राजवंशी, श्रीप्रसाद खरेल र सरिता राजवंशी निर्वाचित भए।
मञ्चबाट सहकारीलाई ‘पारदर्शी’, ‘उत्कृष्ट’ र ‘किसानमुखी’ भनेर प्रशंसा गरिँदै गर्दा, संस्थाले विगतमा भोगेका कमजोरी, निर्णय प्रक्रियामा देखिएका असन्तुलन र नेतृत्वको आलोचनात्मक मूल्यांकन भने औपचारिक एजेन्डामै परेन। सहकारी सदस्यहरूका अनुसार, संस्थाभित्र उठ्ने असहज आवाजलाई मिडिया र आफू निकटका सदस्यमार्फत कमजोर पार्ने रणनीतिमा अध्यक्ष ओझा निपुण रहँदै आएका छन्, जसको प्रतिफलस्वरूप अधिवेशन ‘सर्वसम्मति’को सुरक्षित घेराभित्र सीमित भएको देखिन्छ।
कार्यक्रममा अतिथिहरूले प्रशंसात्मक मन्तव्य राखे पनि, सहकारी अभियानको मूल आत्मा मानिने आत्मसमीक्षा, जवाफदेहिता र आलोचनाको स्वागतबारे गहिरो बहस हुन सकेन। जानकारहरूका अनुसार, उपस्थित विशिष्ट व्यक्तित्वहरू समेत औपचारिक सम्मान र कार्यक्रम व्यवस्थापनको दायराभन्दा बाहिर गएर संस्थाको यथार्थ अवस्थाबारे प्रश्न उठाउने वातावरण पाउन सकेनन्।
असल किसान, उत्कृष्ट अन्तर समूह र एसईईमा उत्कृष्ट विद्यार्थीलाई गरिएको सम्मानले कार्यक्रमलाई आकर्षक बनाए पनि, ती सम्मानहरूले सहकारीभित्र जम्दै गएको असन्तोष र आलोचनात्मक स्वरलाई छोप्ने काम त गरेनन् भन्ने प्रश्न उठिरहेको छ।
नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिँदै गर्दा अब सहकारीको अगाडिको बाटो दुई विकल्पमध्ये एक रोज्नुपर्ने अवस्थामा छ-
आलोचनालाई दबाएर नेतृत्व सुरक्षित गर्ने पुरानै अभ्यास दोहोर्याउने कि, प्रश्न स्वीकार्दै संस्थालाई साँच्चै ‘नौलो भविष्य’तर्फ लैजाने साहस देखाउने ? सहकारीको वास्तविक सफलता प्रशंसाले होइन, प्रश्न सहने क्षमताले मापन हुन्छ।




















