बनियानी । हिजो बिहीबार १७ गतेका दिन जेष्ठ नागरिक दिवसको सप्ताह समापन अवसरमा “जेष्ठ नागरिकहरू प्रति हाम्रो दायित्व” भन्ने मूल नारासहित लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित जेष्ठ नागरिक र विद्यार्थीबीचको अन्तर्क्रिया कार्यक्रम केवल औपचारिक कार्यक्रममै सीमित रहेन, बरु यसले भावी पुस्ताको चेतना निर्माणमा गहिरो प्रभाव छोड्यो।

एक अर्थमा भावनाहरू नै जीवन आकृतिका आधारस्तम्भ हुन्। ती भावना समयमै सही दिशा र आकार नपाए जीवनमा अर्थहीन बन्न सक्छन्। यही सन्दर्भमा जेष्ठ नागरिकसँगको प्रत्यक्ष अन्तर्क्रिया विद्यार्थीहरूका लागि भावनात्मक, नैतिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण बन्यो। हिजो बिहीबार कचनकवल निवासी जेष्ठ नागरिकहरूले आफ्ना जीवन अनुभव, संघर्ष, भोगाइ र मूल्य-मान्यताहरू खुला रूपमा साझा गर्दा विद्यार्थीहरूका आँखामा सम्मान, कृतज्ञता र सहानुभूतिको भाव टिलपिलाएको देखिन्थ्यो।

पाठ्यक्रमका सीमित अक्षरभन्दा बाहिर निस्केर जीवनका यथार्थ पाठ सिकाउने यस्ता अवसरहरूले विद्यार्थीहरूमा नैतिक जिम्मेवारी, अनुशासन, मानवीयता र सामाजिक उत्तरदायित्वबारे गहिरो बोध गराउँछन्। जेष्ठ नागरिकहरूका अनुभवले विद्यार्थीहरूलाई आफ्नो घर, परिवार, समाज र राष्ट्रप्रति उत्तरदायी र कर्तव्यनिष्ठ नागरिक बन्न प्रेरित गरेको स्पष्ट देखिन्थ्यो।

लक्ष्मी माध्यमिक विद्यालय परिवारले जेष्ठ नागरिकहरूलाई कक्षाकोठामा जीवनको पाठ बोकेर उपस्थित भई विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने अवसर प्रदान गरेकोमा ससम्मान हार्दिक आभार प्रकट गरेको छ। विद्यालयको भनाइमा, यस्तो अन्तर्क्रिया विद्यार्थीहरूको लागि निकै फलदायी रह्यो र पुस्तान्तरणमार्फत मूल्य र संस्कारको निरन्तरता सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम सावित भयो।

समग्रमा, जेष्ठ नागरिकसँग विद्यालयका विद्यार्थीको सहकार्य र संवाद केवल सम्मान प्रदर्शन मात्र नभई समाजको नैतिक मेरुदण्ड मजबुत बनाउने आधार हो। यस्ता कार्यक्रमले भावी पुस्तालाई संवेदनशील, जिम्मेवार र सचेत नागरिक बनाउने सन्देश प्रवाह गर्छन्, जुन कुनै पाठ्यपुस्तकले मात्र दिन सक्दैन।