बनियानी । कचनकवल गाउँपालिका-६ बनियानी (डुगडुगी) निवासी समाजका अग्रज अभिभावक तथा लोकतान्त्रिक आन्दोलनका मौन सहयोगी नरबहादुर मुखियाको ९४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज मिति २०८२/०९/१४ गते दिनको करिब २ बजे स्वर्गवास भएको पारिवारिक स्रोतले जनाएको छ।
राजाको प्रत्यक्ष शासन र निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा गोलबन्द हुँदै भुमिगत राजनीतिक संघर्षमा सक्रिय तत्कालीन बामपन्थी नेता-कार्यकर्तालाई आश्रय प्रदान गर्दै उहाँले जोखिमपूर्ण समयमा अतुलनीय योगदान पुर्याउनुभएको थियो। सामाजिक चेतना, साहस र मानवीय संवेदनाको अद्वितीय उदाहरण बनेका मुखियाले कुनै औपचारिक पदमा नरही समाज परिवर्तनको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
स्वर्गीय मुखिया विजय मुखिया, डाकमन मुखिया लगायत मुखिया परिवारका अभिभावक हुनुहुन्थ्यो। उहाँको जीवन सादगी, सहिष्णुता र सामाजिक उत्तरदायित्वले भरिएको थियो। कठिन कालखण्डमा सत्य र न्यायको पक्षमा उभिनु उहाँको जीवन दर्शनको मुख्य आधार रहेको स्थानीय बौद्धिक वर्ग बताउँछ।
उहाँको पार्थिव शरीरको अन्त्येष्टि (दाहा संस्कार) भोलि मिति २०८२/०९/१५ गते बिहान ११ बजे गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
नरबहादुर मुखियाको निधनले डुगडुगी मात्र होइन, समग्र समाजले एक अनुभवी अभिभावक, मौन योद्धा र प्रेरणादायी व्यक्तित्व गुमाएको अनुभूति गरेको छ। उहाँको योगदान सधैं इतिहास र स्मृतिमा जीवित रहनेछ। स्वर्गीय मुखियाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति काजी खबर परिवार हार्दिक समवेदना व्यक्त गर्दछ।




















