बनियानी । लक्ष्मी क्याम्पस बनियानीको आयोजनामा १५ जना दाताको प्रायोजनमा प्रथम लक्ष्मी क्याम्पस छात्र-छात्रा नकआउट भलिबल कप प्रतियोगिता औपचारिक रुपमा शुरु भएको छ। बनियानी खेल मैदानमा आजदेखि प्रारम्भ भएको तीनदिने प्रतियोगिताको उद्घाटन कोशी प्रदेश भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री भुमि प्रसाद राजवँशीले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री राजवँशीले शिक्षासँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकास गर्छ। यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभावान विद्यार्थीलाई अवसर दिन्छन्। प्रदेश सरकारले पनि विद्यालय तथा क्याम्पसस्तरको खेलकुद प्रवर्द्धनमा प्राथमिकता दिनेछ।”
कार्यक्रममा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, प्रदेशसभा सदस्य निमसरी राजवँशी, निवर्तमान गाउँपालिका अध्यक्ष अन्जरा आलमलगायत सामाजिक तथा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख मोती राजवँशीले गर्नुभएको थियो।
आजबाट शुरु भएको प्रतियोगितामा कचनकवल र भद्रपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्रा टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा लक्ष्मी क्याम्पस, ज्ञान सरोवर मावि, विद्या निकेतन मावि, लक्ष्मी मावि, पथरिया मावि, कचनकवल मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, स्वर्णिम शिक्षा सदन मावि र हिमाली माविका छात्र-छात्रा भलिबल टिम सहभागी छन्।
छात्रतर्फ ज्ञान सरोवर मावि मात्र सहभागी भएको छ भने छात्रातर्फ मोती माविले मात्र सहभागिता जनाएको छ। अन्य विद्यालयहरूले भने छात्र र छात्रा दुवै तर्फका खेलाडी सहभागी गराएका छन्।
प्रतियोगितामा छात्र तथा छात्रा दुवै तर्फका विजेता टिमले ८ हजार रुपैयाँ नगद र मेडल तथा उपविजेता टिमले ४ हजार रुपैयाँ नगद र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरको खेलकुद संस्कृति सुदृढ गर्नुका साथै विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।




















