झापा । पूर्व-पश्चिम राजमार्ग फेरि रगतले रंगिएको छ। झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा भद्रपुरका दुई युवाले अकालमै ज्यान गुमाएका छन्। यो केवल दुर्घटना होइन, निरन्तर दोहोरिँदै आएको चालकको लापरबाही अनि राज्यको ट्राफिक ब्यवस्थापन असफलताको अर्को प्रमाण हो।
चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ करिब ५ः३० बजे आफैं अनियन्त्रित भई दुर्घटनामा पर्यो। मोटरसाइकल चालक भद्रपुर नगरपालिका-५ निवासी २५ वर्षीय भुपाल अधिकारी र साथमा सवार करिब २५/२६ वर्ष उमेरका एक युवक गम्भीर घाइते भए। दुवैलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ६ः१५ बजे मृत घोषणा गरे।
ट्राफिक चेकजाँच, सुरक्षित सडक संरचना र प्रभावकारी अनुगमन भएको भए दुई युवाको ज्यान बच्न सक्थ्यो कि सक्थेन भन्ने गम्भीर प्रश्न अब अनुत्तरित बनेको छ। तीव्र गतिको नियन्त्रण, राजमार्गमा जोखिमयुक्त क्षेत्रको पहिचान र दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार निकायले देखाउँदै आएको लापरवाही यस घटनाले पुनः उजागर गरेको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छ र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। तर ‘अनुसन्धान भइरहेको’ भन्ने दोहोरिँदो सरकारी भाष्यले मृतकका परिवारलाई न्याय र आम नागरिकलाई सुरक्षा दिन सकेको छैन।
कति ज्यान गइसकेपछि मात्र पूर्व-पश्चिम राजमार्ग सुरक्षित बन्छ ? कति युवा अकालमै मर्नुपर्ने हो ? अब पनि सम्बन्धित निकाय मौन बस्ने कि जिम्मेवारी लिने - यसको उत्तर जनताले खोजिरहेका छन्।




















