बनियानी । कचनकवल जेसीजको आयोजनामा कचनकवल-बनियानी क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रमसहित मोटरसाइकल स्लो प्रतिस्पर्धा सफलतापूर्वक सम्पन्न भएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, मोटरसाइकल चालक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत हेल्मेटको अनिवार्य प्रयोग, ट्राफिक नियमको पालना, तीव्र गतिमा सवारी नचलाउने, मदिरा सेवन गरी सवारी नचलाउनेलगायतका विषयमा व्यापक सचेतना दिइएको थियो। साथै सहभागीहरूलाई ट्राफिक नियमसम्बन्धी जानकारीसहित सचेतनामूलक सामग्री वितरण गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा मोटरसाइकल स्लो प्रतिस्पर्धा आयोजना गरिएको थियो, जहाँ चालकहरूलाई अत्यन्तै कम गतिमा सवारी चलाउँदै सन्तुलन, धैर्य र अनुशासन प्रदर्शन गर्न लगाइएको थियो। उक्त प्रतिस्पर्धामार्फत सुरक्षित सवारी चलाउने व्यवहारिक अभ्यास गराइएको कचनकवल जेसीजले जनाएको छ।

बनियानी बजार क्षेत्रमा मोटरसाइकल चालकहरूलाई लाइनबद्ध गरी प्रत्यक्ष रूपमा ट्राफिक अनुशासनबारे जानकारी गराउँदै व्यवहारिक अभ्याससमेत गराइएको थियो। सहभागीहरूले कार्यक्रमलाई उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

कचनकवल जेसीजका पदाधिकारीहरूले यस्ता कार्यक्रमले समुदायमा ट्राफिक सचेतना बढाउने र सवारी दुर्घटना न्यूनीकरणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।