काठमाण्डौ - नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले आफूहरूले राखेका माग पूरा नभए देशभर जनविद्रोह हुने चेतावनी दिएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्तापछि बाहिर आएका प्रसाईँले सरकारको ढिलासुस्ती र उदासीनताले अस्थिरता बढ्ने दाबी गरे।

प्रधानमन्त्री कार्कीसँगको भेटमा प्रसाईँले नागरिक बचाउ दलका प्राथमिक मागहरू सरकारसमक्ष राख्दै निर्णय पुस २ गतेसम्म टुंगोमा पुग्नुपर्ने बताएका थिए। “प्रधानमन्त्रीज्यूले सबै माग अध्ययन गरेर पुस २ गते निर्णय दिने आश्वासन दिनुभयो,” भेटमा भएको संवाद उदृत गर्दै प्रसाईँले भने।

प्रसाईँका अनुसार सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन वर्तमान परिस्थितिमा सम्भव छैन। उनले प्रधानमन्त्रीलाई नै “चुनाव हुने आश नगर्न” भनेको दाबी गरे।

“व्यवस्था ठीक छैन। यसरी चुनाव हुँदैन। जनमत संग्रहमा जाऔँ, व्यवस्था सही छ-छैन जनताले नै भन्दिन्छन्,” प्रसाईँले चेतावनीस्वरूप भने।

२०६२/०६३ को जनआन्दोलनको म्याण्डेट संघीयता र धर्मनिरपेक्षता लागू गर्ने हैन भन्दै प्रसाईँले यी विषयमा जनमत संग्रह आवश्यक भएको पुनः दोहोर्याए। उनका अनुसार जनताको वास्तविक चाहनाअनुसार निर्णय गर्न जनमतलाई नै आधार बनाउनुपर्नेछ।

सरकारले आफूहरूको मागमा चासो नदिए अनपेक्षित जनविद्रोह हुन सक्ने चेतावनी प्रसाईँले दिए। उनका अनुसार जनताको रोष बढ्दै गएको र व्यवस्था परिवर्तनको आवाज चर्किँदै छ।

सरकारले पुस २ गतेसम्म निर्णय दिने भनिरहे पनि आगामी दिनमा राजनीतिक माहोल कता मोडिन्छ भन्नेमा देशको ध्यान केन्द्रित भएको छ।